आर्थिक आवाज
पोखरा, ८ भदौ । लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको आयोजनामा कम्प्युटर हार्डवयर सम्बन्धी निःशुल्क तालिम सुरु भएको छ । ६ महिनासम्म चल्ने तालिमको आइतबार एक कार्यक्रमका बीच लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले उद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै गभर्नर लम्सालले गरिब तथा बिपन्न वर्गका महिला तथा युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने आफ्नो अभियान रहेको बताइन् । ‘सशक्तीकरणको अभियानमा क्लबहरुको साथ मिलेको छ,’ उनले भनिन्, ‘हामीले यस वर्ष धेरैलाई सिप सिकाउने लक्ष्य लिएका छौं ।’
गभर्नर लम्सालको नारा ‘सशक्तीकरणका लािग जागौं’ अनुसार आफूहरुले हार्डवयर तालिम सुरु गरेको क्लबका अध्यक्ष गुणानिधि पाण्डेले जानकारी दिए । तालिममा २६ जनाको सहभागिता रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै जिएमटी मल्टिपल कोअर्डिनेटर राजन लम्सालले कम्प्युटर हार्डवयरको ज्ञान भएपछि सजिलै स्वरोजगार बन्न सकिने बताए । क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले डिष्ट्रिक्टको योजना अनुसार क्लबले तालिम सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको बताए ।
कार्यक्रममा बोल्दै कम्प्युटर एसोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले कम्प्युटर सम्बन्धी तालिमका लागि लायन्ससँग सहकार्य गर्न क्यान तयार रहेको धारणा राखे ।
क्लबका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका क्लस्टर प्रमुख महेश पौडेल, सिनियर एओजी छबि शर्मा तिमिल्सिना, जोन चियरपर्सन शोभाखर भण्डारी, क्लबका उपाध्यक्ष होमराज भट्टराई, सचिव दिवाकर कर्ण लगायतले बोलेका थिए ।
Comments are closed.