फोर्स गाडीको माग राम्रो छ : निरन

फोर्स मोटर्स र केस हेभी इक्युपमेन्टको शोरुम पोखराको चाउथेमा स्थापना भएको छ । अन्तर्राष्ट्रियस्तरको उक्त शोरुमका विशेषता तथा फोर्स मोटर्सका बारेमा केन्द्रित रहेर फोस मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक निरन केसीसँग आर्थिक आवाजले गरेको कुराकानीः

फोर्स मोटर्सको शो–रुम चाउथेमा सार्नुको कारण के हो ?
फोर्स मोटर्सको शो–रुम चाउथेमा सार्नुको मुख्य कारण भनेको ग्राहकको सहजताको लागि हो । बुद्धचोकमा साँघुरो हुन थालेपछि हामीले चाउथे सर्ने निर्णय गरेका हौं । यहाँ जग्गाको क्षेत्रफल धेरै छ । यो शो–रुम रहेको चाउथेको जग्गा फोर्स मोटर्स कम्पनीका चेयरम्यानको आफ्नै निजी जग्गा पनि हो ।

चाउथेको शो–रुमको विशेषता के हो ?
यहाँको जग्गाको क्षेत्रफल धेरै छ । बुद्धचोकमा जस्तो साँघुरो ठाउँमा बसेर काम गर्नुपर्दैन । ग्राहकले पनि साँघुरो ठाउँमा बस्नु पर्दैन । आफूलाई हेर्न मन लागेको मोडल यहाँ सजिलै चारैतिर घुमीघुमी हेर्न सक्छन् । हामीले यो शो–रुमको डिजाइन इञ्जिनियरसँग परामर्श लिएर गरेका छौं । ग्राहकसँग डिल गर्न छुट्टाछुट्टै कोठाहरु छन् । जसले गर्दा ग्राहकलाई बुझ्न सजिलो हुन्छ भने हाम्रा स्टाफहरुलाई पनि बुझाउन सजिलो हुन्छ । हामीले ग्राहकले हेर्न चाहेको कुनैपनि मोडल तुरुन्तै प्रोजेक्टर बाटपनि डिस्प्ले गरेर त्यसका फिचरहरु जानकारी गराउन सक्ने बनाएका छौं ।

फोर्सका गाडीहरुको विशेषताचाहिं के हो ?
फोर्स मोटर्सबाट उत्पादित जीप १४ सिटे क्षमताको छ । जुन व्यवसायीहरुका लागि सहज हुन्छ । अन्य जीपहरु ८ सिटे भएकाले फोर्सका जीपको क्षमता झण्डै दोब्बर छ । त्यसैले यो अहिले सबैको रोजाइमा पर्नेमा हामी ढुक्क छौं । फोर्सका गाडीहरुले तेल कम खान्छ । त्यसैले डिजेल खर्च घटाउँछ । एउटै गाडीको दोब्बर क्षमता भएपनि २ वटा गाडी किन्नुपर्ने बाध्यता हट्छ भने दुईवटाको सट्टा एउटै गाडीले काम गरेपछि वार्षिक कर पनि कम हुन्छ । नेपालको बाटो तथा अवस्था हेरेर नै गाडीको डिजाइन गरिएकाले यो हाम्रो लागि उपयुक्त छ ।

फोर्स गाडीका कुन कुन ब्राण्डहरु छन् ?
फोर्स धेरै पुरानो गाडी हो । यसका उत्पादनहरु धेरै छन् । एम्वुलेन्स, जिप, पिकअप, डेलिभरी, भ्यान, बस, स्कुल बस, लक्जरी बस लगायत अत्याधुनिक गाडीहरु छन् । फोर्सका यी गाडीहरु हेर्दा आकर्षक छन् भने उत्तिकै कम्फर्टेवल पनि छ ।

वारेन्टी र सर्भिस के हुन्छ ?
फोर्स मर्सिडिज टाइपको मेसिन हो । यसमा ३ वर्षको इञ्जिन वारेन्टी दिने गरेका छौं । इञ्जिन क्षमता राम्रो छ । १४ सिट क्षमताको जिप छ । थोरै लगानीबाट पनि धेरै आम्दानी गर्न सकिन्छ । पार्टस्लाई सर्वसुलभ तरिकाले उपलब्ध गराएका छौं । बिक्री पछिको सेवा पनि राम्रो छ । नयाँँबजारमा सर्भिस सेन्टर छ । भारतबाट दक्ष मेकानिक ल्याएर सर्भिस क्याम्प काठमाडौंमा चलिरहेको छ । सर्भिस क्याम्प नेपालभरी नै चल्नेछ ।

पोखरामा फोर्स कम्पनीका गाडीको माग कत्तिको छ ?
फोर्स कम्पनीका गाडीहरुको माग पोखरामा अत्यधिक छ । प्याराग्लाइडिङ कम्पनीहरुले फोर्सका गाडीहरु प्रायः चलाउने गरेका छन् । उच्च तथा मध्यम वर्गहरुले फोर्सका गाडीहरु मन पराउने गर्दछन् । यो युवा÷युवतीदेखि प्रायः सबै उमेर समूहको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेश भरि नै हाम्रो मार्केट राम्रो छ । बागलुङ, पर्वत, कुस्मा, वेनी लगायतका स्थानमा माग धेरै छ । समग्र नेपालभरी नै मार्केट राम्रो छ । पूर्व तिरका डिलरबाट पनि बिक्री राम्रो छ ।

You might also like

Comments are closed.