बगरमा पानी पँधेरो ट्रेड प्रा.लि., सम्पूर्ण सामग्री एकै ठाउँमा, शुभारम्भमा विशेष छुट

सुरेन्द्र पौडेल
पोखरा । पोखराको बगरस्थित भीमकालिपाटनमा अत्याधुनिक सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरुको संयुक्त लगानीमा ‘पानी पँधेरो ट्रेड प्रा.लि.’ सञ्चालनमा आएको हो । पानी पँधेरोको औपचारिक उद्घाटन असोज ५ गते आइतबार हुने अध्यक्ष कुलदिप भट्टराईले जानकारी दिए ।

११ हजार स्क्वायर फिटमा सञ्चालनमा आएको ट्रेड प्रालिमा दैनिक उपभोग्य सम्पूर्ण सामग्री सुपथ मूल्यमा प्राप्त गर्न सकिने भट्टराईले बताए । ‘सस्तो मूल्यमा सामान उपलब्ध गराउँछौं,’ उनले भने, ‘बगर तथा वरपरका क्षेत्रका स्थानीयबासीका लागि प्रालि सञ्चालनमा आएपछि धेरै सजिलो भएको छ ।’ लत्ताकपडा, किचन सामग्री, खाद्यान्न, स्पोर्टस सामग्री, बच्चाका खेलौना, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स सामान, मदिराजन्य पदार्थ लगायत ग्राहकको रोजाई अनुसारको सामान बिक्रीवितरण गरिने भट्टराईले जानकारी दिए ।

प्रालिमा १४ जनाको संयुक्त लगानी रहेको प्रवन्ध निर्देशक खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए । ६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको प्रालिमा नुनदेखि सुनसम्म सम्पूर्ण सामान बिक्रीका लागि राखिने उनले बताए । ‘यस अगाडि विभिन्न व्यववसायमा आबद्ध रहेका, वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीमा विदेश जान लागेका युवा तथा व्यवसायीहरुले प्रालिमा लगानी गरेका छन्,’ उनले भने, ‘बगरमा स्तरीय डिपार्टमेन्टल स्टोर्सको आवश्यकता महसुस गरी लगानी गरेका हौं ।’ ग्राहकको सुविधालाई मध्यनजर गरी निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको तिमिल्सिनाले जानकारी दिए । प्रालिमा अहिले ३३ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

धुर्मुस सुन्तलीले उद्घाटन गर्ने, शुभारम्भमा विशेष छुट

अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको पानी पँधेरो ट्रेड प्रालिको औपचारिक उद्घाटन हाँस्य कलाकार धुर्मुस सुन्तलीले गर्ने भएका छन् । असोज ५ गते आइतबार उद्घाटन हुनेछ । उद्घाटनका अवसरमा विशेष छुटको व्यवस्था गरिएको प्रवन्ध निर्देशक तिमिल्सिनाले जानकारी दिए । प्रत्येक १ हजार रुपैयाँको खरिदमा ५० रुपैयाँ नगद छुट (क्यास ब्याक) को व्यवस्था गरिएको उनले बताए ।

३ ठाउँमा शाखा विस्तार गरिने

पानी पँधेरो ट्रेड प्रालि बगरमा सञ्चालनमा आएसँगै अन्य ३ ठाउँमा शाखा विस्तार गरिने भएको छ । पोखराको छोरेपाटन, अमरसिंहचोक र तालचोकमा शाखा विस्तार गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘पोखराको मुख्य बजारमा मात्र राम्रा डिपार्टमेन्टल स्टोर्स थिए,’ उनले भने, ‘स्तरीय सेवा तथा आधुनिक डिपार्टमेन्टल स्टोर्सलाई विकेन्द्रिकृत गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौं ।’ शाखा विस्तारको कामलाई समेत तिब्रताका साथ अगाडि बढाइएको उनले जानकारी दिए ।

 

You might also like

Comments are closed.