बजारको आवश्यकताको आधारमा तालीम आयोजना गर्ने पोउवा संघको तालीम उपसमितिको निधो

 

पोखरा, १७ चैत । पोखरा उद्योग वाणिज्य संघको तालीम व्यवस्थापन उससमितिको बैठकले सदस्यहरुको आवश्कयताको आधारमा तालीमको आयोजना गर्ने निधो गरेको छ । उपसमितिले पोखरा महानगर, घरेलु कार्यालय तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदसँगको सहकार्यमा तालीमलाई लक्षित वर्गसम्म पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

संघकी उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङका अनुसार सरोकारवाला निकायबाट आएको सुझावको आधारमा यस्तो निधो गरिएको हो । आइतबार उपमहासचिव गुरुङको अध्यक्षतामा भएको बैठकमा बोल्दै संघका पूर्व अध्यक्ष बसन्त उदासले दृढ इच्छाशक्ति भएका र केही गरौँ भन्नेहरुलाई आवश्कयताको आधारमा तालीम दिनुपर्ने सुझाव दिए ।

घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख चक्रपाणि गौतमले संघले अगाडि सारेको अभियानमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदका प्राचार्य जीवन भण्डारीले पोखरा उद्योग वाणिज्य संघसँग बिगतमा भएका सहकार्यको स्मरण गर्दै सहकार्यले प्रतिफल दिने धारणा राखे । उनले तालीमको लागि आवश्यक पर्ने प्रशिक्षार्थी र पाठ्सामाग्री उपलब्ध गराउने वचनवद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले तालीमहरु आयोजना गर्दा सामाजिक उत्तरदायित्वलाई पनि सम्झनुपर्नेमा जोड दिइन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने तालीमहरु हिँसा पीडित,एकल महिला तथा सृजनशील व्यक्तिको लागि लक्षित भएमा महानगरले सघाउने वचनवद्धता व्यक्त गरिन् । नेपाल औद्योगिक विकास व्यवसाय प्रतिष्ठानका प्रमुख रामप्रसाद तिवारीले पोखरा उद्योग वाणिज्य संघबाट तालीम प्राप्त व्यक्तिहरुले प्राप्तगरेका सफलताहरुको पुनरावलोकन गर्नुपर्ने बताए ।

तालीम उपसमितिका सदस्य तथा संघकी पूर्व कार्यसमिति सदस्य गोमा ढकालले बजारमा दक्ष जनशक्तिको अभाव रहेको औंल्याउँदै बजारको आवश्यकता अनुसारका तालीमका कोर्षहरु तयार पार्न सुझाव दिइन् ।

You might also like

Comments are closed.