बजारमा कुहिएको बिस्कुट, उपभोत्ताको स्वास्थ्य माथि खेलवाड !

सन्देश श्रेष्ठ

पोखरा नयाँ बजारकी सरु लामिछानेले सदाझैं शनिबार पनि पार्ले टप बिस्कुट किनिन् । सपिङ गरेर घर फर्किएकी उनलाई असाध्यै भोक लागेकाले खानलाई भनेर आफूले किनेर ल्याएको बिस्कुटको प्याकेट फोडिन् । फोडिएको प्याकेटबाट बिस्कुटको पिस निकाल्न के लागेकी थिइन् कुहिएको बिस्कुट देखिन् ।

यो प्रतिनिधि घटना मात्र हो । यसअघि पनि उनले यस्ता घट्ना भोगिसकेकी छन् । यो दोहोरिएको मात्र हो । बजारमा यस्ता कुहिएका, बिग्रिएका र म्याद गुज्रिएका (डेट एक्सपायर) सामानहरु प्रशस्त भेटिन्छन् ।

सञ्चारकर्मीसमेत रहेकी लामिछानेले सो बिस्कुट शनिबार चिप्लेढुंगास्थित सामसुङ गल्ली भित्रको एउटा नाम नलेखिएको पसलबाट खरिद गरेको जानकारी दिइन् । भोक लागेको थियो, ‘उनले भनिन्, ‘घर पुगेर खानलाई खोल च्यातेर हेरेको त कुहिएको पो रहेछ ।’ उनले यसअघि पनि यो कम्पनीको बिस्कुटमा कुहिएको बिस्कुट भेटिने गरेको बताइन् । आफूले कुहिएको बिस्कुट भेटिएको बताएपछि स्थानीय अन्यले पनि सो कम्पनीको बिस्कुटमा कुहिएको भेटिएको अनुभव सुनाएको उनले जानकारी दिइन् ।

पार्ले कम्पनीको टप बिस्कुट नामक यो बिस्कुटको मूल्य रु १० तोकिएको छ । नेपालको मकवानपुरको हेटौंडाबाट अन्टार्कटिक बिस्कुट प्रालिले उत्पादन गर्दै आएको यो बिस्कुटलाई सोही कम्पनीको काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कार्यालय बजारमा ल्याउने गरेको छ ।

कुहिएको भेटेकी लामिछानेले दोषी बिस्कुट कम्पनीलाई कार्वाही गर्न माग गरेकी छन् । कुहिएको बिस्कुट बेच्ने कम्पनीले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको आरोप लगाउँदै उनले दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेकी हुन् ।

बजारमा कुहिएका, म्याद गुज्रेका वा बिग्रिएका सामान पाउनु नौलो कुरा होइन । यस्ता घट्ना बारम्बार दोहोरिने गरेको छ । तर दोषीमाथि कार्वाही कमै मात्र हुने गरेको छ । बेलाबेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा अनुगमन नहुने भने होइन । तर चाँडपर्वको मुखमा केही ठाउँमा गएर अनुगमन गर्नुबाहेक उपलब्धीमूलक केही गरेको देखिदैन । अनुगमनमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चकोपनि सहभागिता हुने गरेको छ ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले खोलिसकेको बिस्कुटलाई जाँच्न (टेस्ट) गर्न नमिल्ने बताए । तर सो ब्याच (लट)को अन्य बिस्कुटको स्याम्पल उठाएर गुणस्तर पत्ता लगाउन प्रयोगशाला पठाइने उनले बताए । त्यसरी स्याम्पल उठाउँदा जुन पसलमा कुहिएको भेटिएको हो सोही पसलबाट उठाउनुपर्ने भएपनि सो ब्याचको अन्य बिस्कुट नपाएको अवस्थामा भने अन्य पसलबाट सोही ब्याचको बिस्कुटको स्याम्पल उठाएर प्रयोगशाला पठाउनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

कोइरालाले सामान किन्दाखेरी नै उपभोक्ता सचेत हुनुपर्ने बताए । उनले सामान किन्दा उत्पादन मिति र प्रयोग गर्ने अन्तिम मिति राम्रोसँग हेरेर किन्नुका साथै प्याकेजिङ कस्तो छ भन्नेबारेमा पनि उपभोक्ता चनाखो हुनुपर्ने बताए ।

You might also like

Comments are closed.