पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजार अनुगमनको कार्ययोजना बनाउन प्रदेश बजार अनुगमन समितिलाई निर्देशन दिएको छ । समितिले आइतबार प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजार अनुगमनको प्रगातिबारे जानकारी लिदै यस्तो निर्देशन दिएको हो । बजार अनुगमनको कार्ययोजना बनाउन्स,‘समितिको निर्देशन पढेर सुनाउँदै समितिका सभापति दीपक कोइरालाले भने, ‘कार्ययोजना अनुसारै बजार अनुगमन गर्नुस् ।’ उनले बजार अनुगमन बेलाबेला मात्र हुने गर्दा देखावटीजस्तो देखिएको भन्दै प्रभावकारी अनुगमन गर्नसमेत उनले निर्देशन दिए ।
समितिले बजार अनुगमनको प्रगति विवरणपनि बुझाउन प्रदेश बजार अनुगमन समितिलाई निर्देशन दिएको छ । अनुगमनको रिपोर्ट त्रैमासिक रुपमा समितिमा बुझाउनुस्,‘समितिका सभापति कोइरालाले भने ।’ उनले बजार अनुगमन गर्दा हल्लाखल्ला गरेपनि कार्वाही गरेकोबारे बजार अनुगमन समिति मौन बस्ने गरेको टिप्पणी गरे । उनले आगामी दिनमा कार्वाही गरेकोबारे सर्वसाधारणलेसमेत थाहा पाउने गरी जानकारी दिन निर्देशन दिए ।
समितिका सभापति कोइरालाले नोवेल कोरोना भाइरस (कोभिड–१९) को त्रासलाई देखाएर उद्योगी तथा व्यापारीहरुले बजारमा ग्यास तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरेको, मूल्य बृद्धि गरेको, गुणस्तरहिन् सामानको बिक्री वितरण गरेकोलगायतका गुनासो सर्वसाधारणले गरिरहेको भन्दै उनले त्यस्ता कार्यहरु रोक्नका लागि बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरे ।
समितिका सदस्य ईन्द्रलाल सापकोटाले सेटिङमा कालाबजारी हुनेगरेको आरोप लगाए । राज्य निरिह हुँदा कालाबजारीहरु मौलाएको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाएर कालाबजारीको सेटिङ तोड्नुपर्नेमा जोड दिए ।
अनुगमन समितिका सदस्य एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले बजारमा कालाबजारी भइरहेको भन्ने जनगुनासोमा आंशिक सत्यता रहेको बताए । उनले उपभोक्ताले अभाव हुन्छ भन्ने डरले सञ्चित गर्ने, सरकारी संयन्त्रले नियमन नगरेको तथा व्यवसायीले कृतिम अभाव गरेर कालाबजारी गर्नेगरेको भन्दै यसमा तीनै पक्ष समान दोषी रहेको बताए ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान्न, खाना पकाउने एलपी ग्यास र ३ महिनालाई पुग्ने औषधी रहेको दाबी गरे । अहिलेसम्म आपूर्तिमा समस्या छैन,‘उनले भने,‘बाहिरबाट नल्याएपनि अहिलेकै मौज्दातले ६ महिनालाई पुग्छ ।’ उनले ग्यास उद्योगलाई नया सिलिण्डर नबेच्न निर्देशन दिइएको बताउँदै उनले भने,‘नया ग्यास सिलिण्डर बेच्दा स्टक राख्ने समस्या देखियो, हुँदाहुँदा भुकम्प जाँदा खरिद गरेका ग्यासका खाली सिलिण्डरपनि अहिले साट्ने काम भइरहेको छ ।’
उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले सरकार र व्यवसायीले दैनिक उपभोग्य सामान र ग्यास सञ्चित छ भनेपनि बजारमा भने अभाव देखिएको बताए । ५÷६ महिनालाई पुग्ने सामान सञ्चित भएपनि खुद्रा पसलेले मौका छोपेर कालाबजारी गर्ने, उपभोक्ता अभाव हुँदैन भन्नेमा आश्वास्त हुन नसक्दा सञ्चित गर्ने गर्दा अभाव सिर्जना भएको बताए । उनले निरिक्षण अधिकृत नियुक्त नहुँदा बजार अनुगमन प्रभावकारी हुन नसकेको र दोषीमाथि कार्वाहीसमेत हुन नसकेकाले तत्काल निरिक्षण अधिकृत नियुक्त गर्नका लागि सरकारलाई दवाब दिन आग्रह गरे ।
Comments are closed.