पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बजेट विनियोजनमा कसैलाई काखा र कसैलाई पाखा नपारिएको स्पष्ट पारेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री लम्सालले बजेट सबैतिर समान रुपमा विनियोजन गरेको बताए । बजेटमा कसैलाई काखा र कसैलाई पाखा गरिएको छैन,‘उनले भने,‘सबैलाई समान रुपमा बजेट विनियोजन गरिएको छ, बरु यसको कार्यान्वयनको दायित्वपनि समान रुपमा हुनुपर्छ ।’ उनले सबै सांसदहरुले विनियोजित रकम कार्यान्वयनका लागि समान रुपमा चासो लिइदिन आग्रह गरे ।
मन्त्री लम्सालले ग्रामिण पर्यटन प्रवद्र्धनका लागि गरिएको कामबाट ठूला व्यवसायीलाई घाटा नहुने भन्दै त्यसप्रति चिन्ता नलिन आग्रह गरे । ग्रामिण पर्यटनलाई उत्पादनसँग जोड्ने प्रयास गरिएको भन्दै यसले स्वरोजगार र समृद्धिमा सघाउने दाबी गरे । होम–स्टे, मुख्यमन्त्री नमूना कृषि गाउँलगायतका कार्यक्रमले स्वरोजगारमा सघाएको उनको भनाई थियो ।
मन्त्री लम्सालले संघ सरकारले सिमाङ्कन नगरिदिदा फेवातालको संरक्षणमा ढिलाई भएको बताए । संघ सरकारले सिमाङ्कन गरिदेओस्,‘उनले भने,‘हामी फेवातालको संरक्षण गर्छौं ।’ मन्त्री लम्सालले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पोखरामा पर्यटकको आगमन ह्वात्तै बढ्ने भएकाले होटलहरुको क्षमता बिस्तार गर्न आवश्यक रहेको बताए । पर्यटनमा नीजि क्षेत्रको सहयोग अपरिहार्य भएको बताउँदै उनले होटलमा वेड थप्न अहिलेदेखि नै पर्यटन व्यवसायीहरुले ध्यान दिन आवश्यक रहेको बताए ।
यसैबीच, आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विनियोजित रकमबारेको छलफलपनि सकिएको छ । बुधबार सांसदहरु ईन्द्रधारा विष्ट, विन्दुकुमार थापा, विष्णुप्रसाद लामिछाने र दिलमाया रोका मगरले धारणा राखेसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विनियोजित रकमबारेको छलफल सकिएको हो । छलफलमा सांसदहरुले आर्थिक नीति दिगो बनाउनुपर्ने, प्रदेशको समग्र विकासमा ध्यान दिनुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेलगायतमा जोड दिएका थिए । छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ विहीबार बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
Comments are closed.