बजेट कार्यान्वयनको आधार प्रशस्त छन् मन्त्री गुरुङ

आर्थिक आवाज
पोखरा, २ असार । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आफूले महत्वकांक्षी बजेट ल्याएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार गण्डकी प्रदेशको बजेटलाई केन्द्रीत गरेर आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बजेट जानाजान महत्वकांक्षी बजेट ल्याएको स्पष्ट पारेका हुन् । ‘यो पपुलिष्ट बजेटचाहिं होइन,’ उनले भने, ‘बरु यो महत्वकांक्षी बजेट हो ।’

उनले बजेटमा लोकप्रिय कार्यक्रम पनि नराखेको र नारा पनि नघुसाइएकाले यो लोकप्रिय (पपुलिष्ट) बजेट नभएको उनको तर्क थियो । ‘बजेट कार्यान्वयन हुने खालको भएको दाबी गरे । बजेट कार्यान्वयनको आधारहरु प्रशस्त छन्,’ उनले भने, ‘प्रदेशका योजना कार्यान्वयन गर्ने ऐन, कानुनहरु निर्माण भइसकेका छन्, धेरै योजनाहरुको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर)पनि तयार भइसकेका छन्, कर्मचारीहरु पनि चालु वर्षको तुलनामा धेरै नै आइसकेका छन्, त्यसैले बजेट कार्यान्वन नहुने कुरै छैन, कार्यान्वयन हुन्छ र हुने खालकै छ ।’ आवश्यकता अनुसार कर्मचारी नआए छुट्टै व्यवस्था गरेर भएपनि बजेट कार्यान्वयन गर्ने उनले दृढता व्यक्त गरे ।

मन्त्री गुरुङले खर्च गर्ने क्षमता अनुसारकै बजेट ल्याएको जिकिर गरे । ‘हामीले मनलाग्दी कार्यक्रमहरु समेटेका छैनौं,’ उनले भने, ‘हामीले जति खर्च गर्न सक्छौं, त्यतिमात्र बजेट ल्याएका छौं । बस्तुगत ढंगले नै बजेट विनियोजन गरेका छौं ।’ सीमा भित्र बसेर बजेट ल्याउँदा कतिपय योजनाहरु नपरेको उनले स्पष्टीकरण दिए । ‘बजेट निर्माण गर्दा प्राविधिक कठीनाईहरु थिए,’ उनले भने, ‘ती कठिनाइहरु हाम्रो नियन्त्रणमा थिएन र छैन पनि, हाम्रो नियन्त्रण बाहिर रहेका योजनालाई हामीले बजेट छुट्याएनौं ।’ उनले ठूलाठूला परियोजना सञ्चालनका लागि ऐन, कानून र डिपीआर नबनिसकेकाले बजेट नछुट्याएको स्पष्ट पारे ।

मन्त्री गुरुङले भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट छुट्याएको जानकारी गराए । भौतिक पूर्वाधारमा छुट्याए पनि यसले पर्यटन, कृषि, खेलकुद लगायत सबै क्षेत्रमा सहयोग पुग्ने जिकिर गरे । अब आगामी वर्षदेखि भौतिक पूर्वाधार निर्माणका लागि विकास प्राधिकरण निर्माण गरेर छुट्टै बजेट छुट्याएर काम गर्ने उनको भनाई थियो ।

मन्त्री गुरुङले पर्यटनमा यथेष्ट बजेट छुट्टिएको दाबी गरे । गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भन्ने निश्कर्ष नै निकालेको प्रदेश सरकारले सोही क्षेत्रलाई बजेटमा उपेक्षा गरेको गुनासो आइरहेका बेला उनले पर्यटनमा बजेट प्रशस्त रहेको बताएका हुन् । आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले ६७ करोड ६० लाख अर्थात कुल बजेटको २ प्रतिशत मात्रै बजेट छुट्याएको छ । जुन बजेट अत्यन्तै कम भएको बिपक्षी दलहरु र पर्यटन व्यवसायीहरुले टिप्पणी गरेका छन् । तर मन्त्री गुरुङले पर्यटन शीर्षक बाहेक कृषि, खेलकुद, स्वास्थ्य र शिक्षालाईपनि लिङ्क गराएर पर्यटनको विकास र विस्तारमा टेवा पु¥याइने भएकाले बजेट कम नभएको बताए ।

मन्त्री गुरुङले चालु आर्थिक वर्षमा ६७ प्रतिशत बजेट खर्च हुने पुनः दोहो¥याए । असार १ महिना मात्र बाँकी रहँदा २६ प्रतिशत खर्च गरेको प्रदेश सरकारले ६७ प्रतिशत खर्च गर्ने दाबी मन्त्रीले पुनः दोहो¥याएका हुन् । उनले योजनाहरुको काम धेरै नै भएपनि बजेट निकासा नभइ बसेकाले असारमा ह्वात्तै बजेट खर्च हुने तर्क गरे ।

You might also like

Comments are closed.