बजेट जनताको भावना बिपरित : प्रतिपक्षी

 

पोखरा ।

प्रतिपक्षी दलहरुले गण्डकी प्रदेशको बजेट जनताको भावना बिपरित आएको आरोप लगाएका छन् । यहि असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङद्वारा प्रदेश सभामा प्रस्तुत बजेटमाथि बुधबारदेखि प्रदेश सभामा शुरु भएको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदहरुले बजेट जनताको भावना बिपरित आएको बताएका हुन् । उनीहरुले कोरोनाबिरुद्ध लड्नेगरी ल्याउनुपर्ने बजेट परम्परागत र कार्यकर्तामुखी भएको टिप्पणी गरे ।

बुधबारको छलफलमा भाग लिदै कांग्रेस सांसद मनकुमारी गुरुङले बजेट जनताको भावना बिपरित आएको टिप्पणी गरिन् । बजेटमा जनताका भावनाहरु पोलिएका छन्,‘उनले भनिन्,‘यो बजेट परम्परागत शैलीमा आएको छ र कार्यकर्तामुखी छ ।’ उनले कोरोनाका कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्न भनेर १ अर्बको ‘व्यवसायीक जीवन रक्षा कोष’ कार्यकर्ता पोस्नका लागि राखेको आरोप लगाइन् । उनले भनिन्,‘योजना र शीर्षक नछुट्याई आएको यो अबण्डा बजेटले उद्योगी, व्यवसायी होइन, कार्यकर्ता पोस्ने मात्र काम हुन्छ ।’ उनले प्रदेशको मुहार फेर्न महिलाको मुहार फेर्न जरुरी भएपनि बजेटले महिलाको मुद्धा सम्बोधन गर्न नसकेको बताइन् ।

सांसद विन्दुकुमार थापाले जनतालाई कोरोनाबाट कसरी जोगाउने र बचाउनेमा केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसक्नु दुःखद भएको बताए । उनले अबण्डा बजेट धेरै भएको तथा पोके बजेट नल्याउन आग्रह गर्दागर्दैपनि अटेर गरेर घुसाएको आरोप लगाए । उनले असफल भइसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पुनः ल्याएकोप्रति विमत्ति राख्दै खारेज गर्न माग गरे ।

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले भिजन नभएको सरकारले मिसन क्लियर नगरी बजेट ल्याएको टिप्पणी गरिन् । उनले बजेट समाजवादको यात्रामा अलमलिएर आएको बताइन् ।

सत्तापक्षीय सांसदहरुले भने बजेट समाजवादको आधारमा टेकेर समृद्धीको सपना पूरा गर्नेगरी आएको बताए ।सांसद मीना गुरुङले बजेट रोग, भोक र शोकलाई हृदयंगम गरि आएको बताइन् । उनले बजेट पूर्ण रुपमा कार्यान्वयन भएमा गण्डकी प्रदेश समृद्धीको उकालो चढ्ने बताइन् ।सांसद मोहनप्रसाद रेग्मीले बजेट जनताप्रति उत्तरदायी भएर उनीहरुको जीवन रक्षासँगै समृद्धीको सपना पूरा गर्नेतर्फ केन्द्रीत रहेको पाएको बताए ।

सांसद ईन्द्रलाल सापकोटाले पूरा हुन नसकेका पुराना कार्यक्रमलाई आगामी आर्थिक वर्षमा राखेर सरकारले जनतासामु जनप्रतिनिधिलाई मुख देखाउने बाटो बनाई दिएको बताए । सांसद रामबहादुर गुरुङले बजेट स्याल होइन बाघ मार्नेगरी आएको बताउँदै बेरोजगार हटाउन, उत्पादन बृद्धि गर्नेलगायतमा बजेट कोशेढुंगा सावित हुने बताए ।

सांसद धनञ्जय दवाडीले बजेटले कोरोनालाई सम्बोधन गरेको र ‘व्यवसायीक जीवन रक्षा कोष’ले कोरोनाका कारण पीडित उद्योगी, व्यवसायीलाई मल्हम पट्टी लगाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले बजेट मध्यम खालको भएपनि पूर्ण कार्यान्वयन भएमा उपलब्धीमूलक हुने बताए ।

You might also like

Comments are closed.