बहिरा बालबालिकाको स्वास्थ्य परिक्षण

आर्थिक आवाज
तनहुँ, १९ पुस ।
तनहुँको व्यास नगरपालिका वडा–१ खकौली स्थित बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका सुस्त श्रवण क्षमता भएका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । चिसो बढ्दै गइरहेको अवस्थामा चिसोको प्रकोपले बालबालिकाको स्वास्थ्यमा पारेको प्रभाव बारे जानकार हुन र न्युनिकरणका लागी स्वास्थ्य परिक्षण कार्यक्रम गरेको विद्यालयका प्रअ सुर्यचन्द्र हड्खलेले जानकारी दिए ।
व्यास नगरपालिकाले प्राविधिक सहयोग गरेको कार्यक्रममा दमौली अस्पतालका चिकित्सकहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरेका हुन् ।

कार्यक्रममा १९ जना बालबालिका र स्थानीय समेत स्वास्थ्य परिक्षण गरिएको हड्खलेले जानकारी दिए । दमौली अस्पतालका डा. सुनिल पाण्डे, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश्चन्द्र न्यौपाने, अनमी उषा हड्खले, अहेव उज्वल श्रेष्ठ लगायतको टोलीले विद्यार्थीको स्वास्थ्य परिक्षण गरेका थिए । 

कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रत्येक बालबालिकाले राज्यबाट पाउने आधारभूत अधिकार सहजै प्राप्त गनुपर्ने बताए । फरक क्षमता भएका बालबालिकाले पनि सम्मानपुर्वक पठनपाठन र व्यक्तित्व विकासको अवसर पाउनुपर्नेमा उनले जोड दिए । बौद्धिक रुपमा सुस्त बालबालिकालाई उनीहरुकै रुचि, चाहना र क्षमता अनुसार सिक्ने वातावरण सिर्जना गर्दै गए यो विद्यालय नमुना विद्यालयको रुपमा स्थापित हुने उनको धारणा थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष खरसिंह दरैले वडाको बजेटबाट रु.२ लाख उक्त विद्यालयको व्यवस्थापनका लागी विनियोजन गरेको बताए । विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धिका लागी गरेका रचनात्मक कार्यको चर्चा गर्दै दरैले विद्यालय वडाकै गौरवको विषय बनेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघ व्यास नगरका सभापति विरबहादुर बस्नेत, जलदेवी माध्यामिक विद्यालयका प्रअ रोहणीराज पौडेल, स्थानीय गीता घर्ती लगायतले बोलेका थिए ।

सोही अवसरमा वडा कार्यालयले विद्यार्थीका लागी न्यानो कपडा समेत वितरण गरेको थियो । विद्यार्थीहरुलाई वडाको बजेटबाट न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष दरैले जानकारी दिए ।

४० जना सम्म विद्यार्थी राख्न सक्ने क्षमता भएको उक्त विद्यालयमा विभिन्न ठाँउका ३५ जना बहिरा बालबालिका अध्ययनरत् छन् । विद्यालयको भौतिक, शैक्षिक र वातावरणीय पक्षको प्रगति हुदै गएको र विद्यालयको क्षमता अभिवृद्धि गरी आवासीय माविसम्म पु¥याउने पहल गरिएको व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । उक्त विद्यालयका विद्यार्थीहरु सांकेतिक माध्यमबाट मात्र सञ्चार गर्ने र सिक्न सक्ने भएकाले विद्यालयमा कम्युटर, प्रोजेक्टर, र अन्य भिडियो सम्बन्धी शिक्षण विधिबाट शिक्षण कार्य सञ्चालन गर्न सक्ने प्रविधि जानेको शिक्षकको आवश्यकता रहेको बस्नेतले बताए । साथै विद्यार्थीहरुलाई भविष्यमा जीवनयापनमा सहयोग होस् भन्ने उद्देश्यले विभिन्न सिपमुलक कार्यहरुमा समेत सरिक गराउदै आएको पनि उनले बताए ।

You might also like

Comments are closed.