‘बहुदलमा ३० वर्षमा गरेको विकास ५ वर्षमा गर्छौं’ : मुख्यमन्त्री

 

पोखरा, ७ फागुन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुदल कालमा ३० वर्षमा गरेको विकास प्रदेश सरकारले ५ वर्षमा गर्ने दाबी गरेका छन् । राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा रासस गण्डकी प्रदेश कार्यालय पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुदलमा २०४७ सालदेखी २०७४ सालसम्म गरेको विकास प्रदेश सरकारले ५ वर्षमा गरेर देखाउँछ ।’

उनले प्रदेशलाई प्रशासनिक स्वायत्तता र आर्थिक स्वायत्तता दिन माग गरे । प्रशासनिक र आर्थिक स्वात्तता बिना आर्थिक समृद्धी हाँसिल नहुने बताउँदै उनले भने,‘प्रशासनिक अधिकार प्रदेशसँग नहुँदा के काम गर्ने ? अनि आर्थिक स्वायत्तता नभए कसरी काम गर्ने ? प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता दिइनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले केन्द्रले प्रदेशलाई टुहुरो बनाएको आरोप लगाएका छन् । पार्टीकै नेतृत्वमा संघीयता आएकाले उसैले प्रदेशको अधिकारमा पनि बोल्नुपर्ने उनले बताए । उनले भने,‘केन्द्रले प्रदेशलाई अहिले टुहुरो बनाएको छ, प्रदेश बनाएको पार्टीले हो, बच्चा जन्माई सकेपछि त्यसलाई स्वस्थ बनाउने र बलियो बनाउने बारेपनि पार्टीले सोंच्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दामोदर बैरागीले मिडियाले विपक्षीको भूमिका निर्वाह गरेको भन्दै त्यसलाई सुधार्न सुझाव दिए । उनले भने,‘प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेस बिपक्षी हुनुपर्दथ्यो, तर कांग्रेस आलोचनात्मक मात्रै भएको छ, मिडियाचाहिं आलोचनात्मक हुनुपर्नेमा विपक्षी भएको छ ।’

राससका पूर्व अध्यक्ष कोमलनाथ बरालले राससलाई प्रादेशिक न्यूज एजेन्सी सञ्चालन गर्न सुझाव दिए ।

बरिष्ठ पत्रकार वद्री विनोद प्रतिकले प्रदेशले चाँडो भन्दा चाँडो सञ्चार नीति ल्याउनुपर्ने बताए । उनले सञ्चार नीति आएपछि राससलाई स्वतन्त्र ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बरिष्ठ पत्रकार नारायण कार्कीले राससलाई व्यवसायीक बनाउन सुझाव दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राससलाई भर्ती केन्द्र नबनाउन सुझाव दिए ।

रासस गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख प्रभातचन्द्र झाले राससले ७ वटै प्रदेश कार्यालयबाट प्रदेश बुलेटिन शुरु गर्न लागेको जानकारी दिए । उनले प्रदेश बुलेटिनको शुरुवात गण्डकी प्रदेशको पोखराबाटै शुरुवात हुने बताए ।

चार राससकर्मी पुरस्कृत

राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा रासस गण्डकी प्रदेश कार्यालयले ४ जनालाई नगदसहित पुरस्कृत गरेको छ । रासस गण्डकीले वर्ष उत्कृष्ट आलेखमा संयुक्त आलेख लेखक द्वय पोखराका बासुदेव पौडेल र मुस्ताङका निरज थकाली, जिल्ला सम्वाददातातर्फ तनहुँका कृष्ण न्यौपाने र स्थानिय समाचारदातातर्फ लक्ष्मण सापकोटालाई नगद ५÷५ हजारसहित पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रभातचन्द्र झालगायतले सम्मान पत्र र नगद प्रदान गरेका थिए ।

You might also like

Comments are closed.