बाङखे गाउँमा माघेसंक्रान्ति मेला हुने

आर्थिक आवाज
पोखरा, २८ पुस । स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेला हुने भएको छ । वालिङ नगरपालीका अन्तर्गत पर्ने पर्यटकीय सम्झवना बोकेको गाउँ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित क्लबले मेलाको आयोजना गर्न लागेको हो ।

माघ १ देखि ७ गतेसम्म आयोजना हुने मेलामा सांस्कृतिक कार्यक्रमका साथै खेलकुद प्रतियोगीताहरु आयोजना हुने आयोजकले जनाएको छ । ‘समानता र सहअस्तित्व बीच युवा एकता, जसले समाजको विकास गर्दछ’ नाराका साथ आयोजना हुने मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रम हुने जनाएको छ ।

भलिबल प्रतियोगितातर्फ विजेताले नगद ४२ हजार, उपविजेताले ३२ हजार र तृतीय हुनेले २२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, वेष्ट स्पाइकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट क्विकर र वेष्ट सेटर र वेष्ट ब्लकरले ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक तुल गुरुङले जानकारी दिए ।

भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले माघ १ र २ गते टिम दर्ता गर्न सक्ने उनले बताए । भलिबल प्रतियोगिताका लागि टिम दर्ता शुल्क ४ हजार राखिएको छ । मेलाको सम्पूर्ण तयारी अन्तिम चरण पुगेको बताएको छ । मेलामा ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै गुरुङ समुदायको संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँ सिद्धार्थ राजमार्गबाट नजिकै रहेर पनि पिछाडिएको छ । प्रशस्त गुरुङ संस्कार, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेर पनि प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा बाङखे गाउँको विकास हुन नसकेको स्थानीयको बुझाई छ । ग्रामीण पर्यटनलाई टेवा पुग्ने उद्देश्यका साथ आयोजना गरिएको मेलालाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको आयोजकले बताएको छ । क्लबले वर्षेनी वार्षिक उत्सवको अवसरमा माघेसंक्रान्ति पारेर मेला गर्दै आएको छ ।

You might also like

Comments are closed.