पोखरा । गण्डकी प्रदेश सांसद राजिव पहारीले बाढीबाट पीडितसँग भेटघाट गरेर संविधान दिवस मनाएका छन् । सांसद पहारीले पोखरा महानगरपालिका वडा नम्बर २३ घाटछिनास्थित नयाबस्ती लामाखेतका बस्ती जोखिममा परेका स्थानीयसँग भेटघाट गरेर संविधान दिवस मनाएका हुन् ।
फेवातालको मुहान हर्पनखोला र हाँडीखोलामा गत भदौ ३१ गते आएको बाढीले चेकड्याम भत्काएर बस्तीतिर सोझिएपछि स्थानीय पुरै गाउँनै जोखिममा परेपछि सांसद पहारी संविधान दिवसको दिन पीडितको अवस्था बुझ्न र घट्नास्थलको जानकारी लिन त्यहाँ पुगेका हुन् ।
स्थानीय समाजसेवी रामबहादुर विकले बाढीले चेकड्याम भत्काएर बस्ती जोखिममा परेपछि स्थानीय छिमेकीको घरमा आश्रय लिएर बस्न थालेको जानकारी दिए । चेकड्याम भइञ्जेल ठीकै थियो,‘विकले भने,‘तर भदौ ३१ गतेको बाढीले चेकड्याम नै भत्काएपछि बस्ती जोखिममा प¥यो, त्यसैले स्थानीय सबै छिमेकीको घरमा आश्रय लिएर बस्न थालेका छन् ।’
बस्तीमा जोखिम बढेपछि आफूहरु छिमेकी कल्याण आमा समूहकी अध्यक्ष आइती श्री घलको घरमा आश्रय लिएर बस्न थालेको पीडित विष्णुमाया पराजुलीले बताइन् । आफ्नोमा अठ्ठाइसै परिवार बास बस्न आउने गरेको आइती श्री घलेले बताइन् ।
यसैबीच, प्रदेश सांसद राजिव पहारीले पीडितलाई भेटेर भत्किएको ग्याविन जस्ताको त्यस्तै बनाउने प्रतिबद्धता जनाएका छन् । तारजालीसहितको ग्याविन भत्किएर बस्ती जोखिममा परेको थाहा पाएलगत्तैदेखि समस्या समाधानका लागि जुटेका सांसद पहारी शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्य, पोखरा–२३ का वडाध्यक्षसहित घट्नास्थल पुगे । उनले स्थानीयलाई भने,‘तपाईंहरु ढुक्क हुनुस्,‘खोला पहिलेकै अवस्थामा फर्किन्छ, तारजालीसहितको ग्याविन पुनः लगाइन्छ ।’ उनले संविधान दिवसको दिनपनि आफू जनताकोमा आएर दुःखमा साथ दिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सेवकको रुपमा जनताको काममा खटिने बचन दिए ।
सो अवसरमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठठाले ग्याविन बनाउनका लागि आवश्यक रकम प्रदेश सरकारले सहयोग गर्ने बचन दिए । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले प्रदेश सरकारले तत्काल ३५ लाख रुपैयाँ निकासा गरेको भन्दै थप ७५ लाख रुपैयाँ भएमा खोलामा तारजालीसहितको ग्याविन बनाएर खोलालाई नियन्त्रण गर्न सकिने बताए ।
स्थानीयले भने आफूहरुलाई ढुक्कसँग बस्ने वातावरण बनाई दिन आग्रह गरेका थिए । उनीहरुले जति दुःख पाउनुपर्ने पाइसकेको भन्दै अबदेखि पुनः नभत्किने गरी चेकड्याम निर्माण गर्न आग्रह गरेका थिए ।
Comments are closed.