बादरलाई खुल्ला चिडियाखानामा लप्सी उपहार !

पोखरा, २० साउन । कास्कीको रुपा गाउँपालिकामा वर्षेनी बादर नियन्त्रणका लागि गाउँकार्यपालिकाले बजेट विनियोजन गर्दै आईरहेको खबर सुन्दै पढ्दै आईरहेका छौं । वन क्षेत्र वरपरका बस्तीमा बादर पसेर बालीनाली सोत्तर पारी ग्रामीण भेगका किसानलाई हैरानी दिइरहेको देखिन्छ ।

यस्तै समस्याको दीर्घकालीन समाधानका लागि बर्दिया पोखरा सम्पर्क समाजले पोखरामा निर्माणाधीन रहेको पोखरा जिलोजिकल पार्क (चिडियाखाना)को वन क्षेत्रमा लप्सीको विरुवा रोपेको छ ।

वन विज्ञान अध्ययन संस्थानले उपलब्ध गराएको १०१ लप्सीका विरुवा समाजका १०१ सदस्यको नाममा वृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरी पोखरा महानगर–३१, पचभैया डाँडामा लप्सी रोपिएको हो ।

निर्माणधीन पार्क आफैंमा पनि वन क्षेत्र भएको हुँदा बोट विरुवाको त्यति आवश्यक नभएपनि बादरलाई उनीहरुकै बासस्थानमा रमाउने वातावरण तयार गर्न लप्सीका विरुवा रोपिएको सम्पर्क समाजका महासचिव एवं निर्माणाधीन पार्कका संयोजक हिमालय बखरेलले जानकारी दिए ।

‘नजिकै बस्ती छन्, स्थानीयबासीहरुको तरकारी खेती, बालीनाली बादरले मास्ने समस्या छ,’ उनले भने, ‘तत्कालका लागि समस्या समाधान त नहोला तर वन क्षेत्रमा नै फलफूलका विरुवा हुर्काउन सके बादर नियन्त्रण गर्न सकिन्छ की भन्ने विश्वास हो ।’

समाजको सामाजिक उत्तरदायित्व वहन वार्षिक कार्ययोजना अनुसार जुलोजिकल पार्कका बादरलाई लप्सी उपहार कार्यक्रम स्वरुप वृक्षारोपण गरिएको समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले जनाए ।

कार्यक्रममा सम्पर्क समाज अन्तर महासंघ कास्की अध्यक्ष मञ्जु पौडेल, पार्क निर्माण समितिका पदाधिकारीहरु, बेगनासताल बस संचालक समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, समाजका सल्लाहकार केदारनाथ पौडेल, सूर्य सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष प्रदिप पौडेलले गरेका थिए ।

निर्माणाधीन पार्कको आवश्यक डिटेल प्राजेक्ट रिपोर्ट (डिपिआर)तयार गरी व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारले योजना अघि सारेको कार्यक्रममा जानकारी दिइयो ।

उक्त पार्कलाई खुला चिडियाखानाको अवधारणामा विकास गर्नका लागि विभिन्न चरणमा कामहरु भइरहेको छ । वन क्षेत्रमा घाइते भएका जनावरहरुलाई उद्वार गरी उपचारको लागि चिडियाखाना संचालन समितिले सानो क्षेत्रफलको रेस्क्यू सेन्टर स्थापना गरेको छ ।
चिडियाखाना निर्माणका लागि युनाइटेड क्लब अमरसिंहले वर्षेनी आयोजना गर्ने पोखरा महोत्सवबाट संकलन भएको रकमको २० प्रतिशत सामाजिक हित अन्तर्गतको दायित्व बहन गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.