आर्थिक आवाज
पोखरा, ९ मंसिर । बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार–२०७५ बाट कान्तिपुर दैनिकका पत्रकार दीपक परियार पुरस्कृत भएका छन् । सोमबार पोखरामा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले नगद १९ हजार ५ सय ५५ दोसल्ला र सम्मानपत्रले सम्मान गरेका छन् ।
पुरस्कार स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित भएको हो । पोखरा महानगरपालिका ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका थिए । उनले पोखरामै रहेर स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेका थिए ।
वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययन गरेकाले पनि वातावरण बिटमा रिपोर्टिङ गर्न रुचाउँछन् । साहित्य, मनोरञ्जन, खेलकुद उनका रुचीका विषय हुन् । बाल, महिला, दलित लगायत सिमान्तकृत समुदायको अधिकारका विषयमा उनले निरन्तर रिपोर्टिङ गरिरहेका छन् । विशेषतः फिचर लेखनमा जोड दिने उनको चासो खोजमुलक र जनजीविकासँग सम्बन्धित समाचारमा छ । फोटो पत्रकारितामा समेत उनी धेरथोर दख्खल राख्छन् । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव उनी यसअघि मीना गुरुङ सिर्जशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सामाजिक र राजनैतिक व्यक्तित्व स्व आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनद्वारा स्थापित संचार पुरस्कार बालबालिका र वातावरणको क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुरस्कार स्थापना गर्नेे परिवारजनप्रति आभार ब्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्ति दीपक परियार, पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, संस्थाका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।
बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणको विषयमा वर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई सो पुरस्कार प्रदान गरिदै आएको पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।
प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्व सम्मानित व्यक्तित्व कृष्णमणि बराल, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी थिए् ।