बाबु आमा दुबै गुमाएका नाबालकलाई सहयोग

पोखरा, २६ असार ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको ट्रिपर दुर्घटनामा परी ज्यान गुमाएका मौषम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई मंगलवार प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

रोल्पाको थवाङ गाउँपालिका वडा नं १ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोराहरू १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी प्रजिअ अधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

केन्द्रीय बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेका अनुसार आपत्कालिन बाल उद्धार कोष मार्फत उक्त रकम र कम्मल (दुई थान) उपलब्ध गराइएको छ । राहत सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विचल्लीमा परेका यी नाबालकको पठनपाठन एवम् संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले नाबालकद्वय असहाय भएको बताउँदै उनीहरूको पठपाठन एवम् जीवनयापनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

You might also like

Comments are closed.