बास्तविक विपन्न परिवारलाई समस्या परेको छ : महानगरका वडाध्यक्षहरु

लेखनाथ १०, बैशाख
पोखरा महानगरपालिकाका विजयपुरपारीका वडाध्यक्षहरुले लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २७ को कार्यालय तालचोकमा मंगलबार दिउँसो बसेको बैठकमा वडाध्यक्षहरुले छुटेका विपन्न परिवार एवं दोश्रो चरणको राहत कार्यलाई प्रभावकारी बनाउन महानगरसँग समन्वय गर्ने निर्णय समेत गरेका छन् ।

पहिलो चरणमा बाँडिएको राहतले ठुलो परिवारलाई अपुग भै समस्या पर्दै गएको र केही व्यक्तिहरुले अनावश्यक रुपमा राहत लिएको पाईएको त्यसक्रममा वडाध्यक्षहरुले समिक्षा गरेका थिए । पहिलो चरणको राहत बितरण चाँडै भएको भन्दै बास्तबिक मजदुर र विपन्न परिवारलाई अहिले समस्या परेको पनि ति वडाध्यक्षहरुको भनाई रहेको छ ।

कोभिड—१९ का कारण गरिएको लकडाउनले विकास निर्माणका योजनाहरु प्रभावित भएको उल्लेख गर्दै, वडाध्यक्षहरुले सामाजिक दुरी कायम गरेर भएपनि वडाका विकास योजना अघि बढाउन महानगरसँग आग्रह गर्ने जनाएका छन् । उनिहरुले आवश्यक सुरक्षा अपनाएर विकास योजनाको कार्यान्वयनमा विपन्न परिवारको श्रमलाई जोड्न सकिने समेत ठहर गरेका छन् ।

केही वडामा विभिन्न संघसंस्थाहरुले आफुखुशी राहत बितरण गरेको पाइएकाले महानगर वा वडा कार्यालयसँग समन्वय गरी बितरण गर्न र त्यसको तथ्यांक वडालाई उपलब्ध गराउन समेत वडाहरुले आग्रह गरेका छन् ।

कोभिड—१९ का विरुद्ध नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै, लकडाउनलाई सफल बनाउन आ—आफ्ना वडाबासीलाई आग्रह गरेका छन् ।

वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकमा वडा नंं २६ का वडाध्यक्ष नारायण प्रसाद बराल, वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं. २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापा, वडा नंं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की र वडा नंं ३३ का वडाध्यक्ष शिव प्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.