बिजनेस अभावमा सदन चल्न सकेन : उपाध्यक्ष दाहाल

 

पोखरा, १६ मंसीर

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले बिजनेस नपाउँदा सदन चल्न नसकेको बताएकी छन् । आइतबार पोखरामा पत्रकारसँगको भेटघाटमा बोल्दै उनले सरकारले बिजनेस नदिदा सदन चल्न नसकेको बताएकी हुन् । बिजनेस अभावकै कारण सदन कहिलेदेखी सञ्चालन गर्ने भन्नेमा अन्यौलता रहेको बताउँदै उनले भनिन्,‘सरकारले बिजनेस नदिदा सदन सञ्चालन गर्न सकिएको छैन, बिजनेसका लागि सरकारलाई हामीले घचघचाईरहेका छौं ।’ पुसको पहिलो साता सदन बोलाउने तयारी गरिरहेको बताउँदै उनले सरकारलाई चाँडो भन्दा चाँडो बिजनेस दिन आग्रहसमेत गरिन् ।

उपाध्यक्ष दाहालले एक सय भन्दा बढी कानून बनाउनुपर्नेमा २२ वटा मात्र कानून बनेको जानकारी दिईन् । फागुन पहिलो साताभित्र कानून बनाईसक्नुपर्ने बाध्यता रहेको बताउँदै उनले विषयगत समितिले धमाधम काम भने गरिरहेको उल्लेख गरिन् ।

सरकारले चित्त बुझ्दो रुपमा काम नगरेको बताउँदै उपाध्यक्ष दाहालले थिति बसाल्ने क्रममा भएकाले सरकारको गति सुस्त भएको हुनसक्ने बताईन् । उनले भनिन्,‘मलाई पनि सरकारले चित्त बुझ्दो काम नगरेको महशुष हुन्छ, तर यो लामो समयदेखी कर्मचारीलाई चलाई राखेको ठाउँमा नयाँ परिवेशमा बेथितिलाई थितिमा ल्याउन समय लागेकाले होला भन्ने लाग्छ मलाई ।’ उनले सरकारलाई गति बढाएर देखिने गरी काम गर्न सुझावसमेत दिईन् । ्

उपाध्यक्ष दाहालले संघीयता असफल हुनै नसक्ने बताईन् । सिंह दरबारको अधिकार गाउँगाउँमा ल्याएको संघीयताकै कारणले भएको बताउँदै भनिन्,‘ नयाँ संरचना र नयाँ अभ्यासमा हुँदा सोंचेजस्तो काम नहुँदा यसको आलोचना भएको हो, तर यो असफल हुनु हुँदैन र हुन दिनुपनि हुँदैन ।’

उपाध्यक्ष दाहालले निर्मला पन्तको हत्याको प्रमाण नस्ट गर्ने कर्मचारी तथा प्रहरीलाई कडा भन्दा कार्वाही गर्नुपर्ने बताईन् । निर्मलाको हत्यारा ढिलो चाँडो पत्ता लाग्ने विश्वास व्यक्त गर्दै उनले भनिन्,‘निर्मला मेरै छोरी सरह हो, उनलाई परेको पीडा मेरै पीडा हो, उनलाई उनलाई न्याय दिलाउनु सबैको जिम्मेवारी हो, मलाई विश्वास छ ढिलो चाँडो उनको हत्यारा पत्ता लाग्छ ।’ सरकार भेटियो, न्याय भेटिएन भन्दै भइरहेको सरकारको आलोचना राजनीतिक पूर्वाग्रहका कारणले पनि आएको उनको भनाई थियो ।

You might also like

Comments are closed.