बिजयपुर खोलाको पुल उच्च जोखिममा, ठूला गाडीलाई आवतजावतमा रोक, डाइभर्सन बनाएर सञ्चालन गर्ने तयारी

पोखरा, २७ फागुन

पोखराको मूख्य प्रवेशद्वारका रुपमा रहेको बिजयपुर खोलामा रहेको पुल उच्च जोखिममा परेको छ । पुल विभिन्न ८ ठाउँमा चर्किनुका साथै भाँच्चिएपछि पुल उच्च जोखिममा परेको हो । दैनिक ६ हजार बढी सवारी साधन आवतजावत गर्ने पुल उच्च जोखिममा परेपछि पुलमा मालवाहक ठूला (हेभि वेट) गाडीलाई पुलमा आवतजावतमा रोक लगाइएको छ । २ साता अघि पुलमा रंगरोगन गर्ने क्रममा रंग लगाउने पेन्टरले पुल भाँच्चिनुका साथै चर्किएको देखेपछि पुलमा ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो ।

२०६४ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बिजयपुर खोलाको पुल ११ वर्ष नबित्दै खतरामा परेको हो । पुलको बिच भागका विभिन्न ठाउँमा बटम कड र क्रस मेम्बर भाँच्चिनुका साथै चर्किएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए ।

पुल उच्च जोखिममा परेपछि मालबाहक ट्रकलगायतलाई पुलमा प्रवेश निशेध गरिएको छ । जसका कारण सयौं ठूला मालवाहक गाडीहरु आवतजावत गर्न नपाएर जाममा परेका छन् । पोखराको भण्डारढीक भन्दा पूर्व पट्टीदेखी कोत्रे क्षेत्रमा सयौं ठूला मालवाहक गाडी रोकिएर जाममा परेका छन् भने पवर्त, बागलुङ र म्याग्दीबाट आएका ठूला गाडीहरु पोखरा र पर्वतको सिमाना नजिक नयाँपुल वरपर रोकिएका छन् ।

यसैबीच, पुलको मर्मत सम्भार कार्य थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । हाल अस्थायी प्रकारको मर्मत सम्भार गर्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेलले बताए । उनले भने,‘हाल तलबाट टेको दिएर चर्केको र भाँच्चिएको ठाउँमा वेल्डिङ गर्ने प्रयास गर्दैछौं, यो अस्थायी मात्रै हो ।’ उनले अस्थायी मर्मतसम्भार गर्न करीब १ महिना लाग्नसक्ने बताए । स्थायी समाधानका लागि पुलको बटम कडको फलाम नै फेर्नुपर्ने हुनसक्ने उनको भनाई छ । तर बटम कडको फलाम फेर्न मिल्छ कि मिल्दैन भन्ने निश्कर्ष निकाल्नका लागि प्राविधिकहरुको विज्ञ टोली ल्याएर अध्ययन गर्नुपर्ने उनले बताए ।

पुल मर्मत सम्भारका लागि पुलमा शून्य भार बनाएर काम गर्नुपर्ने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । त्यसका लागि अस्थायी रुपमा वैकल्पिक बाटो बनाउने प्रयास थालिएको छ । बिजयपुल खोलाको पुल भन्दा करीब १ सय मिटर माथीबाट डाइभर्सन गर्ने तयारी थालिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार डाइभर्सनका लागि पुलभन्दा केहि माथी कल्भर्ट हाल्न लागिएको छ । डाइभर्सनका लागि ५ वटा डोजर तथा जेसिभी प्रयोग गरिएको छ । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा खटिएको सिएएमसी कम्पनीको पनि ईक्यूपमेन्ट प्रयोग गरिएको उनले बताए । उनका अनुसार अन्य ४ वटाले गर्ने कार्य विमानस्थल निर्माणमा खटिएको एउटै ईक्यूपमेन्ट र अनुभवी कामदारले गरिरहेका छन् । प्रमुख पोखरेलले भने,‘काम तिव्र गतिमा भइरहेको छ, सायद सोमबार सम्ममा डाइभर्सन निर्माणको काम सकिन्छ, त्यसपछि सबै गाडी त्यहिंबाट आवतजावत गर्छन् ।’

डाइभर्सन गर्न लागिएको बाटोमा एउटा सुकुम्बासी घर रहेको छ । डाइभर्सन निर्माण गर्न लागिएको बाटोको किनारमै भगवती श्रेष्ठको ५ जनाको परिवार त्यहाँ बस्दै आएका छन् । सो घर नभत्काई बाटो निर्माण गर्न नसकिने निश्कर्षमा प्राविधिक टोली पुगेको छ । लामो समयदेखी बस्दै आएको सुकुम्बासी श्रेष्ठको परिवारलाई क्षेतिपूर्ति दिएर भएपनि घर हटाउनुपर्ने देखिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । यद्वपी यसको निर्णय हुन बाँकी रहेको उनले बताए ।

पुल मर्मत सम्भार गरेर सञ्चालन गर्ने अवस्था नभए नयाँ पुल नै बनाउनुपर्ने पनि हुनसक्ने उनले बताए । नयाँ पुल निर्माण गरुञ्जेल बेली ब्रिज प्रयोग गर्न सकिने उनले बताए । चीनले नेपाललाई ७ वटा बेली ब्रिज दिने सम्झौता भएकाले २ वटा बेली ब्रिज ल्याएर हाल्न सकिने उनको भनाई छ । तर यसबारे सरकारले नै निर्णय गर्नुपर्ने उनको भनाई छ ।

यसैबीच, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र गण्डकी प्रदेशको विकास समितिले पुलको निरिक्षण गरेका छन् । पुलको निरिक्षण गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पूर्वाह्न ९ बजे पुगेका थिए । विकास समितिका सभापति दीपक कोइराला भने पूर्वाह्न १० बजे पुलको निरिक्षण गर्न पुगेका थिए ।

पुल निरिक्षण पछि मुख्यमन्त्री गुरुङले डाइभर्सन चाँडै बनाएर पुल छिटो मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिए । उनले पुल भाँच्चिएको भनेर त्रास फैलिएको छ, यसको चाँडो समाधान गर्नु, तत्कालका लागि डाइभर्सन चाँडो बनाएर आवतजावत खुलाउनु ।’

त्यस्तै, विकास समितिका सभापति दीपक कोइराला ‘रुपक’ले पनि पुल भाँच्चिनुको कारणप्रति जिज्ञाशा राख्दै तत्काल समाधानका खटिन सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई निर्देशन दिए । उनले अस्थायी र स्थायी दुबै काम चाँडो गर्न पनि निर्देशन दिए ।

You might also like

Comments are closed.