बिजुलीको पोल नहटाउँदा मध्य पहाडी लोकमार्गको हेमजा खण्डमा बाटो सम्याउन समस्या

 

पोखरा, ७ चैत

मध्य पहाडी लोकमार्ग अन्तर्गत पोखराको हेमजा खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना न्यून देखिएको छ । देशकै गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गतको हेमजा खण्ड बिजुलीको पोल नहटाउँदा निर्माणमा अवरोध सृजना भएपछि तोकिएको समयमा निर्माण सम्पन्न हुने सम्भावना न्यून देखिएको हो । मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा खण्डमा हाल २८ प्रतिशत काम सम्पन्न भएको छ ।

शर्मा एण्ड कम्पनीले ठेक्का लिएर पोखराको याम्दीदेखी घट्टेखोलासम्म इलेट कम्पनी र सुइखेतदेखी नयाँपुलसम्म स्वच्छन्द ईलेट जेभी कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ । यी दुबै सडकखण्ड बिजुलीको पोल नहटाउँदा बाटो निर्माणमा अन्यौलता छाएको छ । बिजुलीको पोल नहटाउँदा खनेर भताभुंग भएको बाटो सम्याउन समस्या भएको ईलेट कम्पनीका कन्ट्रयाक्ट म्यानेजर राजु रानाभाटले बताए । उनले भने,‘बिजुलीको पोल नहटाए अब काम नै बन्द गर्नुपर्ने अवस्था छ, तर बिजुलीको पोल तत्काल हट्ला जस्तो देखिएको छैन ।’ उनले बिजुलीको पोल हटाउन आग्रह गरेपनि अहिलेसम्म सुनुवाई नहुँदा काममै समस्या आइपर्ने देखिएको बताउँदै भने,‘हामीले पटक÷पटक बिजुलीको पोल हटाउन आग्रह गरिसकेका छौं, तर अहिलेसम्म सुनुवाई भएको छैन ।’

बिजुलीको पोल नहट्ने हो भने अबको १५÷२० दिन पछिदेखी काम अबरुद्ध हुने बताए । उनले भने,‘यो खण्डका सबै ठाउँमा बाटोको दुबैतिर वाल उठाई सक्छौं, त्यसपछि बाटो सम्याउनुपर्ने हुन्छ, तर बिजुलीको पोल नउठाई बाटो सम्याउन सकिन्न ।’ चैत अन्तिम साताबाटै बाटो सम्याउनु पर्ने भएपनि बिजुलीको पोलका कारण के गर्ने भन्ने अन्यौलता छाएको उनले बताए ।

देशको गौरवको यो आयोजना ७४ असारमा निर्माण सम्झौता भएको थियो । असारमा सम्झौता भएपनि सोहि वर्षको असोजबाट काम शुरु भएको थियो । ९८ करोडमा निर्माण गर्ने सम्झौता भएको यो सडकखण्ड २०७७ साल असोजसम्ममा सक्ने भनिएको छ ।

मध्य पहाडी लोकमार्ग निर्माणसँगै खुशी भएका स्थानियले सास्तीपनि बेहोर्नुपरेको छ । बाटोको दायाँ र बायाँ दुबैतिर बाटो अग्लो बनाउन पर्खाल लगाउँदा स्थानियको बाटो नै बन्द भएको छ । बाटो बन्द भएपछि क्रान्ति टोलसहितका स्थानियलाई दैनिक रुपमा आवतजावत गर्न सकस भएको छ भने विद्यार्थीलाई स्कुल जान आउन समस्या भएको छ । पोखरा याम्दीस्थित क्रान्ति टोल आमा समूहकी सिता गुरुङ थापाले बाटो नै बन्द गरेर आफूहरुलाई अन्याय गरेको बताईन् । उनले भनिन्,‘सरकार हाम्रो पनि हो, हामीले नै भोट दिएर बनाएको हो, तर अहिले हाम्रो बाटो नै बन्द गर्ने ? हामीलाई सास्ती दिने ? ।’ उनले वैकल्पिक ब्यबस्था गरेर आवतजावत गर्ने बाटो बनाई दिन आग्रह गरिन् ।’ बाटोको निकास नदिए पर्खाल नै भत्काई दिने स्थानियले चेतावनीसमेत दिए ।

बाटो निर्माणका क्रममा नालीको निकास सिधै बस्तीतर्फ सोझ्याइएको पाइएको छ । नालीलाई सिधै बस्तीतर्फ सोझ्याउँदा जोखिम बढेको बताउँदै हेमजा विकास समन्वय समितिका अध्यक्ष कृष्ण खड्काले भने,‘बर्खाको समयमा भेल बनेर आएका बेला बस्ती नै जोखिममा पर्ने सम्भावना हुन्छ ।’ राज्यले विकास गरिरहँदा त्यसबाट हुने समस्याको जनतालाई समस्या नपर्नेगरी उचित समाधान गर्नुपर्ने बताए ।

निर्माणाधिन बाटोमा धुलो उडेर थप समस्या खेप्नुपरेको स्थानियले गुनासोसमेत गरेका छन् । बाटो निर्माणकर्ता कम्पनीले बाटोमा पानी नहाल्दा धुलोले सताएको उनीहरुको भनाई छ । बाटोमा दैनिक रुपमा पानी हाल्दिए धुलो केहि कम हुने थियो–स्थानिय सिता गुरुङले भनिन्,‘तर हामीले पटक÷पटक आग्रह गर्दापनि बाटो निर्माणकर्ता कम्पनीका प्रतिनिधिले हामीलाई टेरेन ।’

बाटो गुणस्तर, बाटोमा निर्माण गरिएको पर्खाल र धुलोको समस्या प्रति स्थानियले गुनासो गरेपछि निर्माणाधिन बाटो पर्ने कास्की क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद रामजी बराल ‘जीवन’ले बाटोको अनुगमन गरेका छन् । बाटोको अनुगमनसँगै गण्डकी प्रदेश सांसद बरालले स्थानियको गुनासोसमेत सुनेका थिए । स्थानियको गुनासो सुनेका सांसद बरालले कम्पनीका कन्ट्रयाक्ट म्यानेजर राजु रानाभाट र ईञ्जिनियर अनन्त बराललाई बाटोको गुणस्तर कायम गर्न निर्देशन दिए । गुणस्तरबारे धेरै नै प्रश्न उठेका छन्–सांसद बरालले भने,‘स्टिमेट अनुसार गुणस्तर कायम गरेर काम गर्नुस्, हेलचेक्राईं र लापर्वाही नगर्नुस् ।’

उनले पर्खालका कारण सयौं परिवारले सास्ती बेहोर्नुपरेको भन्दै तत्काल बैकल्पिक ब्यबस्था गर्न आग्रह गरे । सांसद बरालले दैनिक रुपमा पानी हालेर धुलो ब्यबस्थापन गर्नपनि निर्देशन दिए । नालीकोपनि उचित व्यवस्थापन गर्नपर्ने भन्दै भने,‘नालीलाई सिधै बस्तीतर्फ सोझ्याउनु हुँदैन, यसको वैकल्पिक प्रक्रिया अप्नाएर बस्तीलाई असर नगर्नेगरी समाधान गर्नुपर्छ ।’ आयोजनाले समस्यालाई नजर अन्दाज गरेको बताउँदै उनले मध्य पहाडी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याको समाधानका लागि आफूले प्रदेश सभा बैठकमा कुरा उठाउनेपनि जानकारी दिए ।

You might also like

Comments are closed.