बजेट कनिका छरेजस्तो : विपक्षी

सन्देश श्रेष्ठ
पोखरा । बिपक्षी दलहरुले बजेट कनिका छरेजस्तो भएको टिप्पणी गरेका छन् । उनीहरुले योजना अनुसार बजेट नदिदा बजेट खल्लो महशुष गरेको बताएका छन् । प्रमुख बिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले योजना अनुसार बजेट नछुट्टिदा आगामी एक वर्षमा के हुन्छ भन्ने स्पष्ट नभएको बताए । बजेटप्रति टिप्पणी गर्दै उनले भने, ‘कोशिष पपुलर हुने खालको छ, स्लोगान विकास निर्माणको छ तर कार्यक्रमहरु यो एक वर्ष भित्र के हुन्छ त भनेर हेर्दाखेरी क्लियर देखिदैन । उनले बजेटमा भेगीय र जातीय असमानतासमेत झल्किएको आरोप लगाए ।

बजेटमा मिर्गौला डायलोसिसका लागि पोखरासहितका अस्पतालमा ब्यबस्था गर्नु राम्रो काम भएपनि छुट्टै भुभागमा रहेको नवलपुरका लागि बजेट नछुट्याइनुले भेगीय असमानता महशुष गरिएको बताए । त्यस्तै, केही दलित जातिहरुको संरक्षणका लागि बजेट छुट्टिदा नवलपुर क्षेत्रका बोटे, माझी, मुसहर जातिहरुलाई छुटाइनुलेपनि जातीय असमानता देखिएको उनको भनाई छ । नेता नेपालीले बजेट कार्यान्वयन हुनेमापनि आशंका व्यक्त गरे । संघ सरकारले प्रदेशसँग समन्वय नगर्ने, कर्मचारी नपठाउने गर्दा बजेट कार्यान्वयन हुने सम्भावना नदेखेको बताए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश सांसद कुमार खड्काले बजेट अत्यन्त निराश र उराठलाग्दो भएको टिप्पणी गरे । बजेटले लोक कल्याणकारी कार्यतर्फ ध्यान नदिएको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट नछुट्याएको बताए । यो बजेटबाट समृद्धिको यात्रापनि अगाडि बढ्न नसक्ने ठोकुवा गर्दै उनले नीति तथा कार्यक्रममा समेटिएको पर्यटनका लागि पर्याप्त बजेट दिन अस्वीकार गर्नु बजेटको सबैभन्दा खराब पक्ष भएको बताए । ऐन कानून अझै निर्माण भइनसकेको तथा कर्मचारी अझै आइनसकेको जान्दाजान्दै खर्च नहुने कार्यक्रमका लागि बजेट दिनु भनेको दुर्भाग्यको पुनरावृत्ति भएको बताए ।

नयाँशक्ति पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले बजेट जनमुखी नभएको टिप्पणी गरे । बजेट हेर्दा रुपमा राम्रोजस्तो देखिएपनि अहिलेको बजेट नक्कली जलप लगाएको सुनजस्तो देखिएको उनले टिप्पणी गरे । उनले सांसदलाई गोजीमा योजना दिनुपर्नेमा बजेट दिएर सांसद पदको खिल्ली उडाएको बताए । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत सांसदलाई बजेट दिएर सरकारले नै भ्रष्टाचारलाई बढावा दिएको उनको आरोप छ ।

You might also like

Comments are closed.