बिबिए पढाई अब तनहुँमै

सुनिता आचार्य
तनहुँ,२८ कात्तिक
व्यवस्थापन संकाय तर्फ नेपालका १० उत्कृष्ट क्याम्पसमा पर्न सफल तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले यसै वर्षदेखि शैक्षिक कार्यक्रम बिबिए सञ्चालन गर्ने भएको छ । तनहुँ, गोरखा, लम्जुङमै पहिलो पटक आदिकविले बिबिएको कक्षा सञ्चालनको तयारी गरेको हो । शैक्षिक बेरोजगारीले विद्यार्थीमा नैराश्यता बढ्दै गएको अवस्थामा विश्व बजारको माग अनुसार बिक्ने जनशक्ति उत्पादनको उद्देश्यले बिबिए कार्यक्रम सुरु गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

बिबिए भर्नामा हुनका लागि क्याम्पसले आवेदन फारम बितरण समेत सुरु गरेको छ ।
बिबिए पढ्न इच्छुक विद्यार्थीले यही कात्तिक ३० गते सम्म आवेदन फारम बुझाउने अन्तिम मिति तोकेको छ भने मंसिर ८ गते प्रवेश परिक्षा सन्चालन गर्ने र उक्त परिक्षामा पास भएका बिद्यार्थीको भर्ना सुरु हुने क्याम्पसले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) प्रमाणपत्र समेत प्राप्त गर्न सफल आदिकविमा हाल क्याम्पसमा विज्ञान, व्यवस्थापन, आइसिटी, शिक्षा, र मानविकी संकायका कक्षा सञ्चालन भइरहेको अवस्थामा थप नयाँ युगको माग अनुसार बिबिए पढाइ सन्चालन गर्न लागेको हो ।

यस वर्ष बिबए अध्ययनका लागी ६४ जनाको कोटा रहेको छ । काठमाडौँ देखी चितवन र अन्य जिल्लाका विद्यार्थीहरुले समेत आवेदन फारम भरेको क्याम्पसले जनाएको छ । क्याम्पसले भने बिबिए पढ्न सक्ने क्षमता भएका स्थानीय विद्यार्थीहरुलाई बढी प्रथामिकता दिने बताएको छ । यस कलेजमा बिबिए अध्ययनका लागि ४ लाख ८६ हजार र शुल्क लाग्ने छ ।

क्याम्पसले बिबिएका विषयमा र त्यस सम्वन्धी ज्ञान दिने उद्देश्यले विभिन्न समयमा विभिन्न समूहसँग अन्तरक्रिया कार्यक्रम समेत सन्चालन गरिएको छ ।
यसै सन्दर्भमा बुधवार स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस इकाइले “टक अन बिबिए ” कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले रोजगारीको अभावमा विदेशिनु पर्ने बाध्यता क्रम कम हुदै जाने बताए । त्रिभुवन विश्वविद्यालयले पछिल्लो समयमा बजारको आवश्यकतालाई मध्यनजर राख्दै सामूदायिक कलेजहरुमा पनि बिबिए जस्ता व्यवहारिक विषयलाई महत्व दिएर राम्रो काम सुरुवात गरेको उनले भनाइ थियो ।
त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र बस्नेतले धेरैजसो मोडर्न टेक्नोलोजीको प्रयोग गरेर सिक्ने बिषय भएकाले विद्यार्थीहरुलाई अत्यन्तै नियमित, अनुशासित, मर्यादित भएर अध्ययन गर्न अग्राह गरे । “ बिबिए अध्ययन गर्नेका लागी बैंकिङ र कर्पोरेटको क्षेत्रमा शत प्रतिशत रोगजारीको अवसर छ ,उनले भने ”। प्राध्यापक अभिभावक संघका अध्यक्ष ऋषिराम ढुंगानाले पछिल्लो समयमा शिक्षा प्रमाण पत्र हाता पार्ने तथा बेरोजगार उत्पादन गर्ने तर्फमात्र निर्देशित भैरहेको परिप्रेक्षमा नयाँ विषय बिबिएले व्यवहारिक ज्ञान दिने विश्वास व्यक्त गरे । कार्यक्रम स्ववियु अध्यक्ष दुर्गा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.