पोखरा १७, माघ ।
बिरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी फर्किएका छन् । कला यात्रामा विद्यालयका विशाल चपाईं, एलिशा तामाङ, मोनिका तामाङ, नवीन परियार, प्रदीप आचार्य र शोभा परियार सहित कलाकारका अभिभावक जगतप्रसाद आचार्य, सिता परियार, विष्णुमाया तामाङ र सिता चपाईं सहितकोे समूह बोधगया गएका थिए ।
बोधगयामा हिमालयन ड्रिम टिमका कलाकारले ३० वटा कला तयार गरेका छन् । यस अघि बुद्धको जन्मस्थल लुम्बिनीमा पनि कला यात्रा सम्पन्न भइसकेको छ । समूहले तयार गरेका कला कोरियाको सिउलमा प्रदर्शनी गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ता कु हुङ किमले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिकी सदस्य विष्णुमाया तामाङले ‘आफ्ना दुबै छोरीलाई चाहेर पनि कलाकार बनाउन सक्थिनँ, किम सरका सहयोगले स्कुलमै कला सिक्ने अवसर पाए । गत वर्ष कोरिया पुगेर कला प्रदर्शनी गरेका दुई छोरीकै कारण अहिले आफू पनि बोधगयासम्मको कला यात्रामा सरिक हुन पाएँ ।’ तामाङ्ले कला यात्राको आर्थिक लगानी गर्ने कोरियाका किम सरप्रति खुशी हुँदै आभार व्यक्त गरिन ।
आठ कक्षामा पढ्ने मोनिका र दश कक्षामा पढ्ने एलिशा तामाङ दुबै दिदीबहिनीले एकै स्वरमा भने ‘हामीले स्कुलमै कक्षा शिक्षकका रूपमा किम सर पायौं र हाम्रो कलायात्राको ढोका खुल्योे ।’ भविष्यमा कलाकार नै हुने अठोट तामाङ दिदीबहिनीले गरेका छन् ।
सिता चपाईंले भनिन्, ‘छोरा विशाल चित्र बनाएरै कोरियासम्म पुगेर आयो, हामीले बोधगयासम्मको यात्रा गर्ने मौका पायौं ‘किम सरले पहल नगरेको भए हामीले कला यात्रामा जाने मौका पाउने थिएनौं’,
यस अघि किमले बिरेठाँटी माध्यमिक विद्यालयलमा ‘खसीले मसी हुन्छ’ भन्दै २० लाख रुपैयाँका बाख्रा २ दुईसय जना अभिभावकलाई बाँढेका थिए । बिरेठाँटीका विद्यार्थीलाई खेलकुद सामाग्री र पोशाक उपलब्ध गराए । विद्यालयको गेट, प्रविधि सहितको स्मार्ट कक्षाकोठा निर्माणमा आर्थिक सहयोग जुटाएका थिए । किमले १२ जना विद्यार्थीले तयार पारेका १ सय २० वटा कलालाई गत वर्ष कोरियाको सिउलमा प्रदर्शनीको पहल गरेका थिए ।
कला यात्राबाट फर्केपछि किमले भने ‘यस पटक हिमालयन ड्रिम टिमका विद्यार्थीले हिन्दु र बुद्ध धर्मको साँस्कृतिक पक्ष बुझन पाए । आफू तिस वर्ष पहिले नेपाल घुम्न आउँदा बोधगया गएको र अहिले जाँदा धेरै परिवर्तन भएको जानकारी दिए
Comments are closed.