बिर्सना र सुदर्शनले जमाए पोखरामा गजलको मेहफिल

पोखरा, १० भदौ ।

गजलकार सुदर्शन पौडेल स्टेजमा गएर देशप्रेमले ओतप्रेत गजल वाचन गर्न सुरु गरे ।
‘मरुभूमिमा कमल फुलिसक्यो पसिनाले
पानीले भएन देश हराभरा अझैपनि ।’

गजलको शेरसँगै दर्शकदीर्घा तालीले गुञ्जयमान भयो । उनले पहिलो चरणमा ५ गजल सुनाए । लगत्तै गजलकार बिर्सना बस्नेत थापाले ५ वटा गजल वाचन गरिन् । दृश्य थियो, गजलसन्ध्या पोखराले गरेको विशेष गजल वाचन ।

सन्ध्याले गर्दै आएको नियमिततर्फको विशेष गजल वाचन कार्यक्रममा २ फरक पुस्ताका गजलकारद्वय पौडेल र थापालाई मञ्चमा उभ्याएको हो । २ सेसनमा चलेको वाचनमा दुबैले १०÷१० गजल वाचन गरे । पहिलो चरणको गजल वाचन गर्दै थापाले भनिन्,
‘कोहीको जीत कोहीको हार यस्तै भइराखेको छ
मनहरु न हो विविध प्रकार भइराखेको छ ।’

गजलकार पौडेलले समसामयिक विषयका गजलहरु प्रस्तुत गरे भने थापाले मायाप्रेम र गाउँघर सम्झिएर कोरिएका गजल वाचन गरेकी थिइन् । थापा आफ्नो गाउँको घर याद गर्दै गजलीय भावमा यसरी डुबिन्,
‘चुहिने मेरो गाउँको घर पाली नी उस्तै छ
बस्तुभाउ गोठमा बारीमा खेती बारी नी उस्तै छ ।’

युवा गजलकारका रुपमा चिनिएका गजलकार सुदर्शन पौडेलले कवितामार्फत देशका नेताप्रति व्यंग्य गरे । उनका गजलले युवाहरु धेरै विदेशिएको दुखान्त चित्रण थियो । उनले गजलबाटै युवालाई सचेत बनाउँदै देशको अवस्थाको व्यंग्य गरे ।
युवा यो देशलाई तिनको हातमा नछोड
जसले जानेको छैन अझै कखरा पनि ।

सन्ध्याले ‘गजलको उत्थानः हाम्रो अभियान’ मूल नारासहित गजलकर्म गर्दै आइरहेको छ । सन्ध्याले यसैवर्षदेखि गजलकारलाई पुरस्कृत गर्ने संस्थाका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए । ‘सन्ध्याले गजलको उत्थान गर्न सक्दो प्रयास गरिहेको छ । त्यसै अनुरुप यसवर्षदेखि नै कुनै एक गजलकारलाई पुरस्कृत गर्ने गरी कोष पनि खडा गरिसकेका छौं,’ उनले भने ।

सन्ध्याले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन गर्दै आएको छ । यो गजल वाचनको १ सय ८२ औं शृंखला हो । ‘सन्ध्या महिनाको दोस्रो शनिबार नियमित रचना वाचनमा कहिले खुल्ला रुपमा नयाँ र पुराना पुस्ताका गजल एक साथ सुन्न पाइन्छ भने, कहिले विशेष वाचकका रुपमा केही गजलकार उभ्याउँछौं,’ अध्यक्ष सुवेदीले कार्यक्रमको सहजीकरण गर्दै भने ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...