बुढा रुखले लेकसाइडमा जोखिम बढाउँदै

सन्देश श्रेष्ठ
पोखरा । पोखरा गौरीघाटस्थित रानीवन आर्केड रिसोर्ट अगाडि फेवातालको डिलमा रहेको एउटा बुढो रुख ३ दिनअघि ढल्यो, सोहि दिन ड्यामसाइडमा पनि त्यसरी नै अर्को रुख ढलेको थियो । रुख हावाहुरी वा अन्य कुनै कारणले ढलेका होइनन् । बरु यी रुखहरु आफ्नै वजन धान्न नसकेर ढलेका हुन् । किनकि यी रुखहरु ढलेको बखत नत हावा हुरी चलेको थियो नत वर्षा नै भएको थियो । यी दुई प्रतिनिधि घट्ना मात्र हुन् । पोखरामा यस्ता घट्ना बेला बेला भइरहन्छन् ।

ड्यामसाइडदेखि लेकसाइडको सेन्टर प्वाइन्टसम्मै यस्ता बुढा रुखहरु करीब ५० को हाराहारीमा छन् । जुन रुखहरु जुनसुकै बेलापनि ढल्न सक्छन् । कारण प्राय यी रुखहरु फेवाताल किनारतिर ढल्किएका छन् । रुखहरु भन्दा त्यसका हाँगाहरुको भाग गह्रुङ्गो हुँदा धान्न नसकेर रुख ढलेको स्थानियको भनाई छ ।

रुखको छहारी बनाएर त्यहाँ चौतारीपनि बनाइएको छ । चौतारी नभएको ठाउँमासमेत मान्छेहरु शितल तापेर बस्ने गर्दछन् । त्यतिमात्र होइन, त्यस्ता रुखहरु भएका क्षेत्रमा थ्रीफेस लाइनका विद्युतीय तारहरुपनि छन् । जसले जोखिम झनै बढाएको छ । धन्न ति रुखहरु ढल्दा मानवीय क्षेती भएन । साँझपख ढलेका कारणपनि मानवीय क्षेति नभएको हो । मानवीय क्षेति नभएपनि स्थानिय तथा पर्यटक भने त्रसित भएका छन् । पटक÷पटक आफै रुख ढल्न थालेपछि उनीहरु कुनबेला कुन रुख ढलेर आफैलाई थिच्ने हो कि भन्ने त्रासमा रहेका हुन् । साथै ढलेको रुखले विद्युतको थ्रीफेस लाइन छोएर ढल्दा आफ्नै ज्यान जाने हो कि भन्ने चिन्ता स्थानियलाई छ ।

बेलैमा सचेत नहुने हो भने कुनै दिन मानवीय क्षेतिसमेत नहोला भन्न सकिन्न । त्यसैले बेलैमा सचेतता अप्नाउनुपर्ने देखिएको छ । यसका लागि ति क्षेत्रमा भएका रुखहरुको हाँगा छाँट्ने (ट्रिमिङ) गर्नेपर्ने ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेल बताउँछन् । भन्छन्,‘अबपनि बेवास्ता गरे भोलि ठूलो दुर्घट्ना निम्तिन सक्छ ।’ आफूहरुले पटक÷पटक महानगरलाई रुखको हाँगाहरु छाट्न आग्रह गर्दापनि बेवास्ता भइरहेको उनको भनाई छ । हिजो कसैलाई केहि भएन,‘उनले भने,‘तर भोलि नहोला भन्न सकिन्न, त्यसैले बेलैमा रुखहरुको हाँगा छाट्नु बुद्धिमानी हुन्छ ।’ उनले रुखकै कारण आफूहरु मन लागेपनि धक फुकाएर फेवा किनार तथा शितल ताप्न जान नसकेको बताए ।

यसअघी रुखहरुको हाँगा छाँट्ने प्रयास नगरिएको भने होइन । तर महानगरपालिकाले गरेको त्यो प्रयासमा नागरिक समाज बाधक बन्यो । नागरिक समाजले वर पीपल नासियो भन्दै उच्च अदालत पोखरामा मुद्धा हालेपछि महानगर भित्रका रुखहरु काट्न छाडिएको हो । तर पछि अदालतले रिट जारी गरिरहनु नपर्ने भनेर फैसला सुनाएपनि रुख काट्ने प्रक्रिया भने अगाडि बढ्न सकेन ।

डिभिजन वन कार्यालय पोखराका सहायक वन अधिकृत शालिग्राम पराजुलीले रुख काट्नु वा हाँगा छाँट्नुपर्ने भएमा स्थानिय टोल विकास संस्था र वडा कार्यालयले महानगरमा निवेदन दिनुपर्ने र महानगरले डिभिजन वन कार्यालयलाई प्रभाव मूल्यांकन गर्न सिफारिस गरेपछि त्यसले गरेको सिफारिसको आधारमा जिल्लामा रहेको सरकारी रुखहरु हटाउने मापदण्ड निर्णय समितिले निर्णय गरेपछि मात्रै रुखहरुको हाँगा छाँट्ने वा रुख काट्न पाइने बताए । उनले गण्डकी प्रदेशमा वर, पीपल संरक्षण विधेयकपनि बनेको र यो लागू हुँदा झन् यस्ता बुढा रुखहरु हटाउने प्रक्रिया झञ्झटिलो हुनसक्ने बताए ।

You might also like

Comments are closed.