धन ब. गुरुङ (सुमन)
पोखरा, १० मंसिर । सानो चिटिक्क परेको एककोठे घर । घर वरिपरी बलेको मैनबत्ती । ढोकामा टागिएको रिवन काटेर घर भित्र पस्दा १ सय वर्षका वृद्ध मनबहादुर गुरुङ र ८८ वर्षकी वृद्धा शिरुमाया गुरङ्सेनी मख्ख देखिन्थे, संगै खुसीका आँशु पनि । घरमा पस्दै गर्दा कस्को घर हो ? भनेर पत्रकारले सोध्दा मेरै घर हो भन्दै थिइन् शिरुमाया गुरङ्सेनी ।
सोमबार तनहँुको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ७ भदौरेमा एउटा शुभ कार्य सम्पन्न भयो । सामाजिक सञ्जालबाट संकलित रकमले बनाइएको घर गाउँपलिकामा नै जम्दार बाजे र जम्दार्नी बज्यैको नामले परिचित वृद्धवृद्धाको लागी हस्तान्तरण गरियो ।
सामाजिक सञ्जालबाट उठेको रकमबाट बनेको घरमा उनिहरुलाई गुरुङ पोषाकमा चिटिक्क पारेर घर भित्र पसाउदा छिमेकीहरुले बुढेसकालमा जिउन सजिलो हुने भयो भन्दै थिए । कार्यक्रममा प्रमुख अतिथीका रुपमा काठमाडौंबाट आएका सामाजिक अभियान्ता टिका बुढाथोकी पनि घर देखेर दङ्ग देखिन्थे । घरमा बसेको केही समयमा नै ‘मन बिनाको धन ठुलो गीत’ को टिम अशोक दर्जी, टंक बुढाथोकी र ए आर बुढाथोकी आएर घर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन भ्याए ।
कार्यक्रमका सञ्चालक सुरेश सुनारले सहयोग गर्ने सबैको नाम वाचन गर्दै गए । सहयोगमा ५ पाउण्डदेखि ५० पाउण्ड अनि डलर र नेपाली रुपैयाँको रेकर्ड थियो । जम्मा उठेको रकम ७ लाख ३१ हजार ७ सय ३४ थियो । त्यसमध्ये २ लाखको घर बनाएर बाँकी रहेको ५ लाख ३१ लाख र ७ सय ३४ उनिहरुको बैंकमा राखिएको छ ।
३ महिना अगाडिसम्म चुहिने घरमा चिसो सिरेटोको प्रवाह नगरी रात बिताउने जम्दार बाजे र जम्दार्नी बज्यैको जीवनमा एकाएक कायापलट भइदियो । उमेर ढल्केका अनि सन्तान नभएका यी दुई वृद्धवृद्धाको लागी सामाजिक सञ्जाल एउटा माध्यम बनिदियो ।
यसरी बन्यो बेसाहाराको लागि घर
बाजेबज्यैलाई स्थानीयको नाताले स्याहार सुसार गर्दै आएकी छिमेकी लस्सु थापाले पोखरामा मेरो साथी टि.भी. युट्युब चलाइरहेका सुरेश सुनारलाई बाबा आमालाई केही गर्न सकिन्छ कि भनेर खबर गरिन् । सुरेश सुनारको टिम गएर उनीहरुको मार्मिक भिडियो
क्यामेरामा कैद गरी अपलोड गरेको केही समयमा नै सहयोगको बाटो खुलिहाल्यो । भिडियो अपलोड गरेको केही दिनपछि आएका जति सहयोग उनीहरुलाई हस्तान्तरण गरियो । उमेर ढल्केका जम्दार बाजे र जम्दार्नी बज्यैको लागि सहयोग त्यतीकैमा रोकिएन ।
यूट्युब मै भिडियो देखेर पोखराका सहयोगीहरु बिना गुरुङ, कमला गुरुङ, महिमा गुरुङ, लक्ष्मी गुरुङ र लामा गुरुङहरुको सहयोगमा पत्रकार सुरेश सुनारले घर बनाउने भनेर सल्लाह गरे । त्यसै अनुसार बैंक एकाउण्ट खोलेर रकम संकलन अभियान सुरु भयो । ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझै सबैले गरेको एक एक सहयोगले बुढेसकालको साहारा घर निर्माण भयो । घर बनाउनको लागि समाजसेवी शिव श्रेष्ठले जग्गा उपलब्ध गराएका थिए । स्थानीय थमबहादुर थापाको संयोजकत्वमा बनेको घरका लागि स्थानीयले उतिकै श्रमदान गरेका थिए ।