बैंकको किस्ता र व्याज माग्दा छतबाट हाम्फाल्ने स्थिति नआओस्ः उद्योगी व्यवसायी

 

पोखरा ।

कास्कीका उद्योगी व्यवसायीहरुले वैंकको व्याज र किस्ता माग्दा घरको छतबाट हामफाल्ने स्थिति नआउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । कास्कीका उद्योगी व्यवसायीहरुको छाता संस्थाहरु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, नाट्टा गण्डकी प्रदेश, निर्माण व्यवसायी संघ कास्की, कास्की हेभी इक्वीपमेन्ट व्यवसायी संघ, गण्डकी ट्रक यातायात व्यवसायी संघ र नेपाल पर्यटक यातायात व्यवसायी संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित भयावह स्थिति चलिरहँदा वैंकबाट व्याज र किस्ता तिर्न ताकेता हुन थालेको भन्दै यसबाट पार लगाउने नीति सरकारले नल्याए उद्योगी÷व्यवसायी घरको छतबाट हामफाल्ने स्थिति आउने बताएका हुन् । यस्तो स्थिति नआउनका लागि सरकारले लकडाउनको समय अवधीको किस्ता र व्याज छुट वा पछि तिर्ने व्यवस्था गरिदिनुपर्ने उनीहरुको भनाई छ ।

पत्रकार भेटघाटमा ६ बुँदे ध्यानाकर्षण पत्रसमेत सार्वजनिक गरिएको छ । पत्रकार भेटघाटलगत्तै उनीहरुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योगी व्यवसायीहरुले वैंक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने समयसीमा तथा कर्जाको समयसीमा कम्तिमा १ वर्षका लागि थप गर्न र कर्जा नवीकरण तथा पुर्नकर्जामा सहजीकरण गर्न माग गरेका छन् । उनीहरुले सम्पूर्ण सार्वजनिक यात्रुवाहक, मालवाहक, पर्यटक तथा औद्योगिक प्रतिष्ठानहरुको लकडाउनको अवधीमा बुझाउनुपर्ने विमा प्रिमियमलाई छुट गर्ने तथा विमा प्रिमियम तिर्ने समय अवधी थप्ने ब्यबस्था गर्न आग्रह गरेका छन् ।

त्यस्तै उनीहरुले नीजि क्षेत्रको लगानीबाट सञ्चालित यात्रुवाहक तथा मालवाहक सवारी साधनहरुको जाँचपास, बाटो इजाजत पत्र तथा सवारी नवीकरण शुल्कसमेत सवारी कर र वार्षिक आयकर छुट गर्न, उद्योग÷व्यवसायमा कार्यरत मजदुरहरुलाई तलव खुवाउन नसक्ने जनाउँदै सामाजिक सुरक्षा कोषमा रहेको रकमबाट उपयुक्त पारिश्रमिक दिन, निर्माणाधीन आयोजनाहरुको समयसीमा न्यूनतम १ वर्ष थप गर्न तथा हेभी ईक्वेपमेन्ट सञ्चालन गर्ने व्यवसायीहरुको कम्तिमा १ वर्षको व्याज र जरिवाना छुट दिन माग गरेका छन् ।

पत्रकार भेटघाटमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले लकडाउन जारी रहँदा वैंकबाट किस्ता र व्याज तिर्न ताकेता हुन थालेको भन्दै यसको निकास राज्यले दिनुपर्ने बताए । अन्यथा सबै उद्योग तथा व्यवसायको चावी वैंकको ढोका अगाडि लगेर थुपारिदिने चेतावनी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य केशबबहादुर अधिकारीले सरकारले तत्कालको समस्या समाधान गर्ने दीर्घकालिन उपाय अपनाउनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वैंकको किस्ता माग्न वैंक तथा वित्तिय संस्थाको प्रतिनिधि घरमै आए भने घरको छतबाट हामफाल्ने स्थिति आउने भन्दै त्यसको समाधानका लागि राज्यले नै नीति ल्याउनुपर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले वैंकको व्याज र किस्ता तिर्न तयार रहेपनि तिर्ने वातावरण निर्माण सरकारले नै गर्नुपर्ने बताए ।

गण्डकी ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष भानुभक्त अधिकारीले सामान ढुवानी गर्दा जोखिम बढेको भन्दै सुरक्षाका लागि स्वास्थ्य सामग्रीको ब्यबस्था गरिदिन आग्रह गरे ।

निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले असोज अगाडि काम गर्ने अवस्था नभएकाले यसअघी सम्झौता भएका योजनाहरुको समयअवधी थप्न आग्रह गरे ।

पोखरेली ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष प्रकाशमणी तिवारीले ट्याक्सीलाई एम्वुलेन्सको पमा प्रयोग गर्न तयार रहेको तर वैंकको व्याज र किस्ता तिर्ने सहज वातावरण भने सरकारले बनाईदिनुपर्ने बताए ।

You might also like

Comments are closed.