बैंकको ब्याजदर घटाउन निजी क्षेत्रको दबाब, बैंक बहिस्कारसम्मको चेतावनी

आर्थिक आवाज
पोखरा, २४ माघ । बैंकको व्याजदर महंगो भएको भन्दै निजी क्षेत्र आन्दोलित भएको छ । व्याजदर महंंगो हुँदा व्यवसाय गर्न र लगानी गर्न उद्योगी तथा व्यवसायीहरुलाई समस्या भएको निजी क्षेत्रको आरोप छ । मंगलबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश व्यवसायीहरुले बैंकले एकलौटी रुपमा ब्याजदर बढाइरहेको आरोप लगाए ।

अन्तरक्रिया पछि संघले विज्ञप्ति जारी गरी बैंकहरुलाई ब्याजदर घटाउन माग गरेको छ । बैंकहरुले व्याजदर नघटाए आन्दोलन गर्ने संघका अध्यक्ष दामु अधिकारीले बताए । ‘ब्याजदर नघटाए आन्दोलन गर्ने तयारीमा छौं,’ उनले भने, ‘ब्याजदर बढ्दा व्यवसायीहरु मर्कामा परेकाले यस्तो निर्णय गर्नुपरेको हो । तत्काल ब्यादर नियन्ण गरी सहज परिस्थितिको निर्माण गरियोस् ।’

माघको अन्तिमसम्म ब्याजदर नघटाए आन्दोलन गर्ने तयारी भइरहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । ‘ऋण लिँदा गरेको सहमति भन्दा बढी ब्याजदर नतिर्ने पक्षमा हामी छौं,’ उनले भने, ‘ब्याजदर नघटे महासंघसँग सहकार्य गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछन् ।’ बैंक बहिस्कारसम्मको अवस्था आउनसक्ने पोखरेलले बताए ।

बुधबार नै पश्चिमाञ्चल होटल संघले समेत ब्याजदर तत्काल घटाउन राष्ट्रबैंक पोखराको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा राष्ट्रबैंक पुगेको टोेलीले राष्ट्रबैंक शाखा प्रमुख निर्देशक पौमलाल गौतम मार्फत केन्द्रीय बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको हो । कर्जाको ब्याजदर अस्थिर र चर्को भएको भन्दै तत्काल नियन्त्रण गर्न संघले माग गरेको छ ।

You might also like

Comments are closed.