‘बैंकको मुनाफा सहकारीमै आइपुग्छ’

केदारनाथ उप्रेती
शाखा प्रमूख
राष्ट्रिय सहकारी बैंक लि., पोखरा शाखा

राष्ट्रिय सहकारी बैंकको अहिलेको वित्तीय कस्तो छ ?
राष्ट्रिय सहकारी बैंक अहिले १५ औं वर्षमा दौडिरहेको छ । हाल हाम्रो ७७ जिल्लामा नै पहुच पुगेको छ भने ४५ वटा शाखा विस्तार गरी सेवा दिइरहेका छौं । समग्रमा देशभर करिब १० हजार सहकारी संघ÷संस्था यसमा आवद्ध छन् । हामीले अहिले कास्कीमा करिब १ अर्ब बराबर कारोबार गरिरहेका छौं भने देश भर करिब १६ अर्ब बराबरको कारोबार भईरहको छ ।

राष्ट्रिय सहकारी बैंक र अन्य बैंकमा के फरक छ ?
अन्य बैंक र यो बैंक विच धेरै भिन्नता छ । यो बैंक सहकारी संघ÷संस्थाहरुको प्रबद्र्धन, विकास एवं बैंकिङ कारोबारको लागी सहकारी क्षेत्रको एक मात्र बैंक हो । नेपाल सरकारको स्वामित्व सहित सहकारीहरुकै लगानीमा यो बैंक सञ्चालनमा छ । अरु बैंक ग्राहकमा आधारित छन् भनै हामी सदस्यमा आधारित हौं । हाम्रोमा कारोबार गर्न सदस्य हुनुपर्छ, शेयर सदस्य नभई कारोबार गर्न पाइँदैन । सहकारीमा वित्तीय आवश्यकता परेमा हामीले त्यसको परिपूर्ति गर्छौं । सहकारी बैंकले आर्जन गरेको मुनाफा विभिन्न माध्यमबाट सहकारीमा नै आइपुग्छ । राष्ट्रिय सहकारी बैंक भनेको सहकारी संघ संस्थाहरुको छाहारी हो ।

कास्कीमा कतिवटा सहकारी बैंकमा आवद्व छन् ?
कास्कीमा दर्ता भएका ६ सय २९ सहकारीहरुमध्ये करिब ३५० को हाराहारीमा हामीसँग आवद्व भएर नियमित कारोबार गरिरहेका छन् । अब हामी कास्कीका सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई सदस्य बनाई हरेक सहकारी संघ÷संस्थाहरुको साझेदार संस्थाको रुपमा हामी अगाडि बढ्नेछौं । हरेक सहकारीको ढोका ढोकामा हामी पुग्ने योजना बनाएका छौं । कास्कीको शेयर सहभागिता तथा कारोबार उत्साहजनक रहेको छ, यसले गर्दा हामीलाई थप उर्जा मिलेको छ । कास्कीका सहकारी संघ÷संस्थाहरुले १० हजार रुपैयाँ देखि २ करोड १ लाख ११ हजार रुपैयाँ सम्म शेयर लगानी गरेका छन ।

सहकारीबाट कुन प्रयोजनको लागि रकम माग हने गरेको छ ? कस्ता क्षेत्रमा लगानी गर्दै आउनुभएको छ ?
सहकारी संघ÷संस्थाहरुको व्यवसाय÷कारोबार वृद्विका लागि नै रकम माग हुने गरेको छ । यस अन्तर्गत सहकारी संघसंस्थाका सदस्यहरुले गर्ने व्यवसाय वृद्वि पनि पर्दछन् । हामीले सहकारीलाई आवश्यक रकम उपलब्ध गराउछौं र उक्त रकम सहकारीले आफ्ना सदस्यको व्यवसाय बिस्तारको लागि लगानी गरेको पाएका छौं । उत्पादनमुलक क्षेत्रमा हामीले लगानी गरिरहेका छौं । कास्कीका विभिन्न सहकारीहरुलाई लघुवित्त कर्जा अन्तर्गत कृषि तथा उत्पादनमुलक क्षेत्रमा बिना धितो सस्तो दरमा कर्जा उपलब्ध गराएका छौं । उत्पादनमुखी सहकारीहरुलाई प्राथमिकताको आधारमा सस्तो ब्याजदरमामा रकम उपलब्ध गराउछौं ।

डिपोजिट प्रक्रिया कस्तो छ ?
राष्ट्रिय सहकारी बैंक सदस्यमा आधारित बैंक भएकाले हामी हाम्रा सदस्य सहकारी संघ÷संस्थाहरुलाई डिपोजिटको लागि आग्रह गर्दछौं र सदस्य नभएका सहकारी संघ÷संस्थाहरुलाई सदस्य भइ कारोबार गर्न आग्रह गर्दछौं । पैसा हुँदा हामीकोमा राख्नुस् र चाहिदा हामीबाट नै लैजानोस भन्छौं । हामीले डिपोजिटमा कुनै सीमा तोकेका छैनौं । सहकारी बैंकमा पैसा राख्नुभयो भने यसको फाइदा पनि विभिन्न माध्यमबाट सहकारीसम्म नै आइपग्छ । हामी सहकारी संस्थाहरुलाई सम्पूर्ण कारोबार यस बैंक मार्फत नै गर्न अनुरोध गर्दछौं ।

६१ औं सहकारी दिवस मनाईरहदा के भन्न चाहनुहुन्छ ?
देश संघिय ढाँचामा प्रवेश गरेको छ । देशमा केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार ३ तहको सरकार गठन भइसकेको छ । सहकारी ऐन २०७४ जारी भइसकेको छ र स्थानीय तहमा समेत सहकारी ऐन निर्माणको प्रक्रियामा छ । ऐन निर्माण प्रक्रियमा हामी सरोकारवलाहरु चनाखो हुनु जरुरी छ । राज्यले एकातिर सहकारी क्षेत्रलाई देशको आर्थिक विकास १ खम्बा भनेको छ भने अर्कोतिर सहकारी अभियानलाई खुम्च्याउन खोजेको छ । सहकारीको विकास प्रबद्र्धनको लागी राज्यले खासै ठोस नीति ल्याउन सकेको छैन । ६१ औं सहकारी दिवस मनाइरहदा दीगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नारालाई सार्थक बनाउने गरी मनाउन अनुरोध गर्दछु ।

अन्त्यमा के भन्नुहुन्छ ?
सहकारी संघ संस्थाहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्नका लागि नै सहकारी बैंक स्थापना भएको हो । यसले वित्तीय आवश्यकताका साथ साथै सदस्य संघसंस्थाहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम, विदेश भ्रमण, गोष्ठी जस्ता कुराहरुमा पनि सहजीकरण गर्दै आइरहेको छ । यहाँहरुले माया गर्नुभयो भने अझै यसले धेरै सेवा सुविधा प्रदान गर्न सक्षम हुनेछ । सहकारी संघ÷संस्था बिना सहकारी बैंकको कल्पना पनि गर्न सकिदैन । त्यसैले मिलेर अगाडि बढौं । सहकार्य गरौं, हातमा हात काधमा काध मिलाएर अघि बढौं सहकारी अभियानलाई दीगो बनाऊँ भन्न चाहन्छु ।

You might also like

Comments are closed.