‘बैंकमा भन्दा सहकारीमा जोखिम कम छ


सुदिप ढकाल
अध्यक्ष
कास्की बचत तथा ऋण सहकारी संस्था लि.

कास्कीमा बचत तथा ऋण सहकारी संस्थाहरुको अवस्था कस्तो छ ?
कास्कमिा रहेका ६२९ सहकारी मध्ये ३४९ सहकारी बचत तथा ऋण सहकारी छन् । कारोवारको हिसाबले पनि हामी बचत तथा ऋण सहकारी उत्कृष्ट बनेका छन् । कारोबारको सन्दर्भमा पनि करिव ७० प्रतिशत हिस्सा बचत तथा ऋणले ओगटेको छ । अन्य जिल्लाको तुलनामा कास्कीमा बचत तथा ऋण सहकारी संस्थाको अवस्था राम्रो छ । सहकारीबीचको मर्जर प्रक्रिया पनि शुरु भएको छ, जुन खुसीको कुरा हो । कतिपय सहकारी मर्ज भइसकेका छन् । अहिले आएको नयाँँ ऐनले पनि यस विषयमा राम्रो भुमिका खेलेको छ भन्ने मलाई लाग्छ ।

कास्कीको सहकारी अभियानलाई कसरी हेर्नुभएको छ ?
समग्रमा हेर्ने हो भने कास्कीको सहकारी अभियान पहिलेको तुलनामा धेरै राम्रो भएको छ । सहकारी ऐन २०७४ सहकारीको लागि कोशेढुङ्गा हो । यसमा अझै पनि केही कमजोरी छन् । नियमावली आउन बाँकी छ । स्थानीय तह पनि सहकारी सम्वन्धी ऐन निर्माणको तयारीमा जुटिरहेको अवस्था छ । प्रदेशसभाले पनि यस विषयमा हामीसँग छलफल गरेको छ । सहकारीसँग आवद्ध जनप्रतिनिधिहरु पनि हुनुहुन्छ । जुन समग्र सहकारी अभियानको लागि सुखद हुनेछ भन्ने मेरो विश्वास छ ।

बैंक र सहकारीबीच के कस्ता फरक छन् ?
बैंक र सहकारीबीच धेरै भिन्नता छ । बचत तथा ऋण भन्ने वित्तिकै हामीले पनि बचत तथा ऋणको कारोबार गर्ने हो । कहि न कही हामी बिच भेट भइनै हाल्छ । बैंकले गरेका काम अनुसार हामी काम गर्दैनौं । बैंकले जस्तो लगानी नै गर्न नसक्ने अवस्थामा हामी छैनांै । बैंकको ब्याजदरको होडबाजीले विभिन्न समस्या नआएका पनि होइनन् । राष्ट्रबैंकले बैंकलाई सिन्डिकेट नै लगाउनु पर्ने जस्तो अवस्था आयो । यस हिसाबले हामी स्वतन्त्र छौं । हाम्रो आ–आफ्नै किसिमका ब्याजदर छन् । हामीले देशको महंगीको दर भन्दा ब्याजको दर माथि राख्छौं । यसलाई हामीले निरन्तरता दिनेछौं । बैंकको ब्याजदर पनि अस्थिर छ । घटबड भइरहन्छ । हामीले समग्र मंहगीको दर भन्दा ब्याजको दर १ प्रतिशत माथि रहन्छ । अहिले बैंकको भन्दा सहकारीको कर्जाको रेट पनि कम छ । मुद्धतिको रेट सरदर बैंकले बरावर नै दिएर काम गरेका छौं ।

ऋण लगानी गर्दाको जोखिमलाई कसरी लिनुहुन्छ ?
सहकारीमा जोखिमको सम्भावना कम रहन्छ । किनभने यो सदस्यको विचमा मात्र हुने वित्तीय कारोबार हो । कास्कीमा सहकारीको लगानी अत्यन्त कम जोखिमको अवस्थामा छन् । जोखिमको पाटो हामीसँग जोडिए पनि हामीले जोखिम न्युनीकरण हुने गरेर काम गरिरहेका छौं ।

कास्की बचत तथा ऋण सहकारी संस्था लि ले के कस्ता काम गर्दै आएको छ ?
कास्की बचत संघ सक्रिय अवस्थामा छ । हामीसँगै काम गर्ने साथीहरु केन्द्रसम्म पुग्नुभएको छ जुन खुसीके कुरा हो । हामीले विभिन्न कार्यक्रम गर्ने गरेका छौ । ५ वर्ष पहिलेका सहकारी तालिम र अहिलेका तालिममा धेरै फरक छ । ऐन तथा नियमावली आउनु भन्दा पहिले त्यसका वारेमा छलफल तथा अन्तर्रक्रिया गर्दै आइरहेका छौं । विभिन्न विषयमा छलफल, अन्तर्रक्रिया, बहस तथा गोष्ठी गरेर सदस्यलाई सुसूचित गर्ने तथा क्षमता विकास गर्ने गरेका छौं । २६० भन्दा धेरै सहकारी हाम्रो सम्पर्कमा आइसक्नुभएको छ । केही निष्कृय तथा दुरदराजमा रहेका संस्थालाई पनि हामीले यो आर्थिक वर्ष भित्र बचत संघमा आवद्ध गराउने प्रयास गरिरहेका छौं । हाम्रा सदस्यका प्रत्येक समसया हाम्रा समस्या हुन् भनेर हामी समधानमा लाग्दछौं ।

सहकारी क्षेत्रमा के कस्ता समस्या छन् ?
सहकारी क्षेत्रको मुख्य समस्या भनेको कर हो । ऐनमा थोरै लेखेर आएपनि हामीले यस आर्थिक वर्षमा पनि २० प्रतिशत नै बुझाउनुपर्ने छ । एकजना मानिस नै धेरै सहकारी सहकारीमा रहदा यसले हामीलाई समस्या पारेको छ । यसलाई नियन्त्रण गर्नु जरुरी छ । एक प्रकृति एक व्यक्ति भन्ने कुरालाई कडाईका साथ लागु गर्नुपर्छ । आगामी दिनमा यी समस्या कानुनी तवरबाट नै समाधान हुनेछन् ।

राज्यले सहकारीलाई कसरी लिएको छ ?
राज्यले सहकारी क्षेत्रलाई अझै पनि खासै प्राथमिकतामा राखेको छैन । ३ खम्वे अर्थनीतिको एक खम्बा भनिए पनि अन्यको तुलनामा यस क्षेत्रलाई कम माया गरेको भन्ने मलाई लाग्छ । विभिन्न सेवा तथा सुविधा प्रदान गर्नु आवश्यक छ । मर्जर हुने संस्थालाई कर छुटका साथै प्रोत्साहनको लागि विभिन्न सहयोग गर्नुपर्छ ।

You might also like

Comments are closed.