‘बैंक खाता खुल्ला भएपछि मात्र अग्रिम टिकट बुकिङ, बन्दको हल्ला निराधार’

आर्थिक आवाज
गत वैशाखदेखि यातायात व्यवसायी समितिका बैंक खाताहरु रोक्का छन् । चाडपर्व नजिकिएसँगै हरेक वर्ष यात्रुहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिन्छ । यसपटक बैंक खाता रोक्का खुल्ला नगरिएसम्म अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने व्यवसायीहरुले अडान लिएका छन् ।

सरकारले यही असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने बताएपनि माग पुरा नभएसम्म कार्यान्वयन नहुने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालयमा पत्र आएर बैंक खाता खुल्ला गरिएमात्र अग्रिम टिकट बुकिङ खुल्ला हुन्छ,’ केसीले भने ।

यातायात व्यवसायी र सरकारबीच यातायात व्यवस्था विभागमा भएको छलफलमा आगामी ५ गतेदेखि बुकिङ खुल्ने सहमति भएको थियो । सरकारका तर्फबाट सहमति कार्यान्वयन भए अग्रिम टिकट बुकिङ खुल्ला हुने केसीले बताए ।

यसैबीच, यातायात बन्दको हल्ला निराधार भएर केसीले आर्थिक आवाजलाई बताए । ‘यातायात व्यवसायीबाट कुनैपनि प्रकारको बन्द आयोजना गरिएको छैन,’ केसीले भने, ‘बन्दको हल्ला निराधार हो ।’ सरकारले सिण्डिकेट हटाउने अभियान सञ्चालन गरेपछि यातायात व्यवसायी आन्दोलित भएका थिए ।

You might also like

Comments are closed.