ब्याजदर स्थिर बनाउन अर्थमन्त्रीको आग्रह, वक्ताका विषयमा अध्यक्ष र महासचिवबीच लफडा

सन्देश श्रेष्ठ
पोखरा । अर्थमन्त्री डा.युवराज खतिवडाले वैंकहरुलाई ब्याजदर स्थिर बनाउन आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले ब्याजदर अस्थिर नहुने बताए । उनले भने,‘ऋण लिँदा सस्तोमा दिने, अनि ऋण लिइसकेपछि तिर्नेबेला महंगो ब्याजदर लिने, ब्याजदर यस्तो अस्थिर हुनुहुँदैन ।’ उनले ऋण लिइसकेपछि निश्चित अवधीसम्म ब्याजदर बढाउन नमिल्ने बनाउन आवश्यक रहेको बताए । उनले वैंकलाई नियमन गर्न खोज्दा अधिनायकबाद भयो भनेर प्रतिपक्षी दलले रोइलो मच्चाएको आरोप लगाए । तर वैंकलाई नियमन नगर्दा खुकुलो गरेर वैंक छाडा भयो भनेर तिनैले भनेको उनको टिप्पणी थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निराशा होइन आशा जगाई दिन आग्रह गरे । आर्थिक सूचकांकहरु सकारात्मक भइरहँदापनि प्रतिपक्षी दल र केहि उद्योगी व्यवसायीले नकारात्मक प्रचार गरेर जनतालाई निराश बनाएको भन्दै त्यस्तो नगरिदिन आग्रह गरेका हुन् । एकथरीलाई अहिले खत्तमै भो भन्ने भएको छ, कांग्रेसको नाम नलिई उनले भने,‘आर्थिक बृद्धि दर बढ्यो त्योपनि खत्तम भो, सबै प्रदेशमा समान ६ देखि ८ प्रतिशत आर्थिक बृद्धिदर भो त्योपनि खत्तम भो, पहिले भन्दा १९ प्रतिशत निर्यात बढ्यो त्योपनि खत्तम भो अनि साढे ३ लाखदेखि ४ जति रोजगारी बृद्धि भो त्योपनि खत्तम भो, अर्थात एकथरीलाई आर्थिक सूचकांकमा सकारात्मक प्रभावहरु देखिदापनि खत्तमै भएको छ ।’ राम्रो प्रणाली बसाल्न खोज्दा केहि ढिलाई भएको बताउँदै उनले भने,‘यसलाई प्रोपोगाण्डा नगराई दिनुहोला, जनतालाई निराशा होइन आशा जगाई दिनुहोला ।’

अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्री खतिवडाले विकास जनताले देख्ने र सुन्नेगरी केहि वर्षमै हुने दाबी गरे । २० वर्षे योजना बनाएर कति वर्षमा के गर्ने भन्ने खाका अनुसारै सरकार अगाडि बढिरहेको भन्दै उनले भने,‘सराङ्कोटमा एकछिन बादल लाग्दैमा सूर्योदय हुँदैन भन्नु भएन, सूर्यलाई बादलले छेक्न सक्दैन, हो त्यसैगरी विकासलाई कसैले रोक्न सक्दैन, त्यो भएरै छाड्छ, विकास सराङ्कोटबाट सूर्य देखेजस्तै विकास देख्न पाउनुहुन्छ ।’

अर्थमन्त्री खतिवडाले भ्रष्टाचार अमान्य र अस्वीकार्य भएको बताए । भ्रष्टाचारले देशलाई अन्धकारमा लैजाने भन्दै यसमा शून्य सहनशीलता अप्नाइएको उल्लेख गरे । उनले करछली वित्तिय अपराध भएको टिप्पणी गरे । अहिले करका बारेमा भ्रम छरिएको बताउँदै यो कर प्रणाली पूर्ण कार्यान्वयनमा आइसकेपछि सबैलाई सहज हुने र कसैलेपनि छोड्नै नचाहने दाबी गरे । अर्थमन्त्री खतिवडाले व्यवसायी र जनतालाई समस्या नहुँदापनि प्रतिपक्षी दलले यसलाई उछालेर समस्याका रुपमा अथ्र्याएको आरोप लगाए । उनले भने,‘उद्योगी, व्यवसायी र आम सर्वसाधारणलाई करका बारेमा कुनै समस्या छैन, तर राजनीतिक दल र तिनका नेतालाई मात्र समस्या छ ।’ उनले सम्पती करका बारेमा अनावश्यक प्रोपोगाण्डा मच्चाइएको भन्दै थपे,‘सम्पती कर छलफल र सहमतिबाटै टुंगोमा पुगिन्छ, यसबारेमा आतंत्रित र त्रसित नबनाइयोस् ।’

अर्थमन्त्री खतिवडाले स्थायी लेखा नम्बर (प्यान) व्यवसायीको नागरिकताजस्तो भएको बताए । उनले प्यान लिने वित्तिकै कर तिर्नु नपर्ने स्पष्ट पार्दै भने,‘कर तिर्नुपर्ने अवस्था अर्थात तोकिएको भन्दा बढी कमाएको अवस्थामा मात्रै तिर्नुपर्छ ।’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकार विधि र कानुनसम्मत तरिकाले चल्ने बताए । उनले केहि औंलामा गनिनेहरुले देशमा भ्रम छरेर अराजकता मच्चाउन खोजेको आरोप लगाए । उनले सामाजिक सञ्जालको नकारात्मक टिप्पणीले आतंकित बनाएको बताए । मन्त्री लम्सालले फेवाताल संरक्षणका लागि जग्गाको मुआब्जा दिनका लागि २ खर्ब रुपैयाँ चाहिने भएकाले संघ सरकारलाई प्रस्ताव पठाएको भन्दै उक्त रकम छुट्याई दिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले नीति क्षेत्रसँगको सहकार्य बिना समृद्धी नआउने बताउँदै सरकारलाई नीजि क्षेत्रलाई खुशी बनाएर समृद्धीको यात्रामा अघि बढ्न आग्रह गरे । उनले पोखरा नेपाल मात्र नभई एसियाकै आकर्षक गन्तव्य भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सरकारले लगानीको वातावरण बनाउन नसकेको आरोप लगाए । गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले राज्यले कर तिरेपछि कर तिर्नेलाई सम्मान र सुविधा दिन सक्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विकासको काम गर्नुपर्ने स्थानिय सरकारलाई गाह्रो हुने ठाउँमा मात्रै कर उठाउन दिइएको भन्दै असन्तुष्टी व्यक्त गरे । ठूला र सहज कर प्रदेश र संघ सरकारले उठाएपनि विकासमा भने चासो नदिएको उनको गुनासो थियो । जिसीले खाल्डाखुल्डी नपुरिएको अवस्थामा पर्यटन वर्ष मनाउनु र पर्यटक बोलाउनुको कुनै अर्थ नहुने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा राम्रो भएपनि जनतालाई बुझाउन नसक्दा हाँसिमजाकका रुपमा लिन थालिएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्योगी व्यवसायीको साझा संस्थाले सबैलाई समेटेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रमको अध्यक्षता गरेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी व्यवसायीले अहिले विकास, समृद्धी र सुशासनमा प्रतिबद्धता नभई एक्सन खोजेको बताए । उनले वैंकहरुले ऋण दिने बेला एउटा व्याजदर र ऋण तिर्ने बेला अर्को ब्याजदर लिँदा उद्योगी व्यवसायी थलिएको गुनासो गरे । उनले नीजि क्षेत्रलाई हतोत्साही नभई उत्साही बनाएर समृद्धीको यात्रामा सँगसँगै लैजान आग्रह गरे ।

संघको ६५ औं वार्षिक अधिवेशनको अवसरमा विविएतर्फ सर्वोत्कृष्ट अंक ल्याउने सफल पृथ्वीनारायण क्याम्पसकी छात्रा स्मृति पूर्जा, विविएतर्फ सर्वोत्कृष्ट पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नानतकोत्तर (एमए) तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा स्वेताकुमारी गुप्तालाई लक्ष्मी विद्या पदकसहित नगद पुरस्कार वितरण गरिएको थियो । पोखराका उद्योगपतिद्वय बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठको लक्ष्मी हाउसले स्थापना गरेको लक्ष्मी विद्या पदक हरेक वर्ष वितरण गरिदै आएको छ । सो अवसरमा पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार भरत कोइरालालाई पुरस्कृत गरिएको थियो ।

अतिथिलाई बोल्न दिने विषयमा अध्यक्ष र महासचिव बिच लफडा

पोखरा उद्योग वाणिज्य संघको ६५ औं अधिवेशनमा अतिथिलाई बोल्न दिने विषयमा संघका अध्यक्ष दामु अधिकारी र महासचिव अर्जुन पोखरेल बिच लफडा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई बोल्न दिने र नदिने विषयमा अध्यक्ष अधिकारी र महासचिव पोखरेल बिच लफडा भएको हो ।

अध्यक्ष अधिकारी ढकाललाई बोल्न दिनुपर्ने पक्षमा थिए । तर महासचिव त्यसको बिपक्षमा । शनिबार विहान देखिनै ढकाललाई बोल्न दिने र नदिने भन्नेमा लफडाबाजी चलिरहेको थियो । कार्यक्रमको उद्घाटन शत्रको तालिका बनाउन विहान बसेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु चण्डीराज ढकाल र आनन्दराज मुल्मीलाई बोल्न दिने कि नदिने विषयमा छलफल भयो । अध्यक्ष अधिकारीले नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा आए उनैलाई बोल्न दिने नत्र विशिष्ट सदस्यसमेत रहेका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई दिनुपर्ने बताएका थिए । तर महासचिव पोखरेलले ढकाललाई कुनैपनि हालतमा बोल्न नदिने अडान राखे । विवाद नमिली कार्यक्रम सञ्चालन भएपछि अध्यक्ष अधिकारीले ढकाललाई बोल्न दिनका लागि महासचिव पोखरेललाई पटक÷पटक निर्देशन दिए । तर पोखरेलले अध्यक्षको निर्देशन अवज्ञा गरिरहे । जब महासचिव पोखरेलले ढकाललाई बोल्न नदिई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छालाई बोल्न दिए तब सबै माहोल बिग्रियो । ढकाल बोल्न नदिने सुईंको पाएपछि मञ्चको अग्रभागबाट उठेर पछिल्लो भागमा गएर बसे । उनी कार्यक्रम छाडेर फर्कन खोजिरहेका थिए । तर उनलाई अध्यक्ष अधिकारी, पूर्व अध्यक्ष सञ्जिवबहादुर कोइराला लगायतले रोकेका थिए । उक्त बेला कार्यक्रम स्थल बाहिर पक्ष र विपक्षमा तर्क वितर्क चलेको थियो ।

गोल्छा बोलिसकेपछि संघका अध्यक्ष अधिकारीले हस्तक्षेप गरी ढकाललाई बोल्न दिए । आफूलाई अपमानित गरेको महशुष गरेका ढकालले उद्योगी व्यवसायी नै पक्ष र विपक्षमा लाग्नु दुःखद भएको बताउँदै यसले कसैलाई पनि फाइदा नहुने बताएका थिए ।

ढकाल बोलिसकेपछि माइक पाएका महासचिव पोखरेलले अध्यक्षले हस्तक्षेप गरेर ढकाललाई बोल्न दिएको भन्दै आपत्ति जनाए । उनले भने,‘समयको पावन्दीले थोरैलाई बोल्न दिने भन्ने उद्धेश्यले ढकाललाई बोल्न नदिन खोजिएको हो, तर अध्यक्षले हस्तक्षेप गरेर बोल्न दिनुभयो, यसप्रति मेरो घोर आपत्ति छ ।’ यो दृश्य देखेका अतिथि तथा उपस्थित उद्योगी, व्यवसायीपनि आश्चर्यमा परेका थिए ।

You might also like

Comments are closed.