ताङतिङ (कास्की) । कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा पारकोटे भैसी संरक्षण कार्यक्रम अन्तर्गत भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट २० घरपरिवार किसानहरु लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका वरिष्ठ पशु विकास अधिकृत एवं कार्यालय प्रमुख डा. शोभा शर्माले जानकारी दिइन् ।
उक्त कार्यक्रममार्फत भकारो सुधारका लागि प्रति परिवार २० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ । ‘अनुदानलाई किसानहरुले सदुपयोग गरी गोठको स्तरउन्नति गरेको पाएका छौं,’ उनले भनिन् । डा. शर्माको नेतृत्वमा एक टोलीले हालै उक्त कार्यक्रमको अनुगमनसमेत गरिसकेको छ ।
‘किसानहरु खुसी छन्,’ उनले भनिन् । भकारो सुधार अन्तर्गत किसानहरुले गोठलाई सिमेन्टेड बनाएर मुत्र संकलन गर्ने सानो ट्यांकी बनाएका छन् । संकलन गरिएको मुत्रलाई मलको रुपमा प्रयोग गर्दा तरकारीसमेत राम्रो भएको किसानहरु बताउँछन् । २ वटा भैसीं अट्ने गरी किसानहरुले गोठ बनाएका छन् ।
Comments are closed.