आर्थिक आवाज
पोखरा, ४ माघ । लेकसाइडस्थित भट्टराई परिवारले स्याङजाको बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छन् । स्व. माता पूर्णकुमारी भट्टराई (मिठू)को स्मृतिमा उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
शुक्रबार विद्यालयको ५२औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहबीच स्व. पूर्णकुमारीका परिवारले उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्का र प्रधानाध्यापक बमबहादुर रानालाई हस्तान्तरण गरे । स्व.भट्टराईका छोराहरु चित्रबहादुर भट्टराई, चीनबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, छोरी बिमला अधिकारी भट्टराई र नाति विकास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै छोरा गोपीबहादुर भट्टराईले आफ्नों आमाको स्मृति सोही गाउँ र विद्यालयसँग जोडिएकाले छात्राबृत्तिका लागि अक्षयकोष स्थापना गरेको बताए । समारोहमा बोल्दै उनले आमाको जन्मस्थलमा रहेको विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको उज्वल भविष्यका लागि स्थापित अक्षयकोषले जेहन्दार तथा होनहार विद्यार्थीहरुमा थप हौसला मिल्ने आशा व्यक्त गरे ।
स्थापित अक्षयकोष अनुसार प्रावि तहमा जेहन्दार छात्र र छात्राले उक्त रकमको वार्षिक व्याज मध्ये २५ प्रतिशत, पाँच कक्षादेखि ९ कक्षासम्मका उत्कृष्ट एकले २५ प्रतिशत तथा कक्षा ११ र १२ मा उत्कृष्ट हाँसिल गर्ने विद्यार्थीले पनि २५–२५ प्रतिशतका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सोही समारोहकाबीच भट्टराई परिवारले प्रावि स्तरमा उत्कृष्ट भएका छात्र छात्रालाई जनही पाँच–पाँच हजार र माध्यमिक तहमा उत्कृष्ट एक विद्यार्थीलाई नगद १० हजार रुपैयाँले पुरस्कृत समेत गरे । अक्षयकोष रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्काले उक्त सहयोग रकम ग्रामीण विद्यार्थीहरुका लागि ठूलो हौसला हुने बताए । उनले अक्षयकोष स्थापना गरेकोमा भट्टराई परिवारप्रति कृतज्ञता व्यक्त गरे ।
Comments are closed.