भायानेट क्यान इन्फोटेक फागुन १८ देखि, तयारी तिब्र

आर्थिक आवाज
पोखरा, १० माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’ फागुन १८ देखि हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकको तयारीलाई तिब्र बनाइएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इन्फोटेकका साथमा सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनिसँगै हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

‘इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने हामीले विश्वास लिएका छौं,’ उनले भने, ‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यले इन्फोटेक आयोजना गरिएको हो ।’

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भुर्तेलले जानकारी दिए । इन्फोटेकका अवसरमा अघिल्लो वर्ष गृहिणीहरुलाई तालिम प्रदान गरिएको थियो । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहने उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकास तथा सामाजिक क्षेत्रमा खर्च गरिने उनले बताए ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा २७ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका काम सुरु गरेको उनले जानकारी गराए । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले साथ दिएको छ ।

सूचना तथा प्रविधिसँग चासो दिनेहरुका लागि इन्फोटेक निकै प्रभावकारी हुने क्यान कास्कीका सदस्य सुनिल पाण्डेले बताए । सिटी रेवान महोत्सव तथा फुड फेस्टिवलसँगै इन्फोटेक आयोजना गरिएकाले यस पटक प्रदर्शनी केन्द्रमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहने सिटी रेवानका महासचिव जीवन दाहालले बताए ।

You might also like

Comments are closed.