भारतीय पर्यटकलाई निम्तो बाड्न चलिए पोखरा

पोखरा,२७ असार ।

पश्चिाञ्चल होटल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाड्न पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेकोछ ।

बिषेश गरि यस समयमा भारतका पटना, बनारस, लखनउ लगायतका बिभिन्न क्षेत्रमा अत्याधिक गर्मी हुने भएकोले भारतीय पर्यटकहरुलाई पोखरा घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिने भ्रमण टोलीको मुख्य उदेश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए ।

“पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शितल, स्वच्छ बातावरण सहित हिमाली एवम् पहाडी दृष्यावलोकनका लागि आउनै पर्ने ठाउँ भएको कुरालाई प्रचार प्रसार गरिनेछ, ” उनले भने, “ विगत छ बर्षयता निरन्तर सञ्चालन गरिएको यो कार्यक्रमले भारतीय पर्यटक आउनेक्रम निकै बृद्धि भएको छ ।

पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यवलोकनमा लोभिने गरेको बताउदै नेपाल पर्यटक वोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसंगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउछन् ।

चलीय पोखरा कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताउने पश्चिाञ्चाल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कुल विदेशी पर्यटक मध्य ६० प्रतिशत भारतीय रहेको उनले जानकारी दिए ।

पाँच दिने भ्रमण कार्यक्रमका क्रममा भारतको लखनउ, पटना, बनारस लगायतका ठाउँमा पुगी त्यहाका पर्यटन व्यवसायि संग अन्तरकृया गरिने होटल संघका सचिव गणेश पहारीले जानकारी दिए ।

भ्रमण टोलीलाई नेपाल पर्यटन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष हरि बास्तोलाले क्षेत्रीय होटल संघको कार्यालय डिहिकोपाटनमा बिदाई गरेका थिए ।

You might also like

Comments are closed.