भारतीय मन्त्री नै भन्न थाले– चलिए पोखरा

 

पोखरा, २ साउन ।

चलिए पोखरा अभियानबाट प्रभावित हुँदै भारतीय मन्त्रीहरुले नै आफ्ना नागरिकलाई पोखरा घुम्न जान सल्लाह दिन थालेका छन् ।

गत असार २७ गते ६ दिने चलिए पोखरा अभियान लिएर उत्तर भारतका पटना, बनारस र लखनउ पुगेको नेपाली टोलीसामू भारतीय मन्त्रीहरुले नै त्यस्तो सुझाव सुनाए । पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँग मिलेर आयोजना गरेको अभियानको सातौं संस्करण अन्तर्गत पोखरेली होटलकर्मी, संचारकर्मी र बोर्डका अधिकारीहरुको सहभागिता रहेको थियो । संघका पूर्व अध्यक्ष विप्लव पौडेलको पालामा सन् २०१२ मा चलिए पोखरा अभिायन पहिलोपटक आयोजना गरिएको थियो । पूर्व अध्यक्षद्वय हरि शर्मा गैह्रे र भरतराज पराजुलीले पनि अभियानलाई भव्यतापूर्वक निरन्तरता दिएका थिए ।

उत्तर भारतबाट पोखरा नजिक र गर्मी छल्ने उपयुक्त गन्तव्य भएका कारण यस पटक पनि क्षेत्रीय पर्यटन प्रबद्र्धन अभियान अन्तर्गत चलिए पोखरा कार्यक्रम संचालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । बोर्डको गण्डकी प्रदेशका प्रमुख सूर्य थपलियाले पोखराका लागि भारत महत्वपूर्ण र ठूलो बजार भएको भनाई राख्दै उच्च तहका भारतीय अधिकारीको नेपाल भ्रमण हुन सके पर्यटनमा थप प्रभाव पर्ने बताए ।

बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालित अभियान अन्तर्गत पत्रकार सम्मेलन, भारत र नेपालका पर्यटन व्यवसायी विच व्यापारिक भेटघाट (बीटुबी), पर्यटन सम्बन्धी श्रब्यदृष्य प्रदर्शन तथा प्रचार सामग्रीको वितरण मुख्य रुपमा समेटिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । कार्यक्रमका भारतीय पर्यटकका लागि ३ हजार देखि १३ हजार रुपैयाँ विचका प्याकेजहरु समेत सार्वजनिक गरिएको थियो ।

लखनउमा आयोजित कार्यक्रममा उत्तर प्रदेशकी पर्यटन मन्त्री रिता बहुगुणा जोशीले भारत र नेपाल विच थुप्रै समानता भएको भन्दै पशुपतिनाथ नपुगेसम्म भारतीयको धार्मिक यात्रा अपुरो हुने बताइन् । सिंगापुर, थाइल्याण्ड र मालदिभ्स भन्दा नेपाल जान सिफारिस गर्दै उनले रामायण र बुद्ध सर्किटका कारण पनि नेपाल र भारतविच सम्बन्ध प्रगाढ हुने अवस्था सिर्जना भएको सुनाइन् ।

धार्मिक सहर बनारसमा आयोजित कार्यक्रममा उत्तर प्रदेशका विधायक रवीन्द्र जैसवालले त भारतीयलाई सिंगापुर जानु पूर्व पोखरा घुम्न जान सल्लाह दिएका थिए । प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सामाजिक र सांस्कृतिक रुपले उत्तर भारत र पोखरा विच धेरै समानता भएका कारण पनि भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको उनले सुनाए । बनारस होटल एशोसिएशनका अध्यक्ष देवेन्द्र नारायण सिंहले राम र जानकीको सम्बन्धले पनि नेपाल र भारत विच पुरानो तथा धार्मिक सम्बन्ध रहेको बताए ।

बुद्ध एयरका कन्ट्री म्यानेजर उद्धव सुबेदीले काठमाडौं र बनारस रुटमा सो कम्पनीले हवाई सेवा समेत दिने गरेको सुनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमण पछि नेपाल पुग्ने भारतीयको संख्या बढेको जानकारी दिए । उत्तर प्रदेशका परिवहन मन्त्री स्वतन्त्र देव सिंहले नेपालको पर्यटकीय विकासका लागि यातायात क्षेत्र सुधारको सुझाव दिए । उत्तर भारत र पोखरा विच सिधा वस सेवा संचालनका लागि पहल गर्नुपर्ने भनाई उनको थियो । सिधा हवाई सेवा हुन सके अझ उत्तम हुन सक्ने भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीको भनाई थियो ।

अल इन्डिया ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएसनका अध्यक्ष इन्द्रजीत सिंहले भारत र नेपालका पर्यटन व्यवसायीविच सहकार्यमा जोड दिए । टुरिजम एशोसियसन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकका लागि पोखरा सुन्दर र सस्तो गन्तव्य भएको बताए । पटनाका पर्यटन व्यवसायी गौरव कुमारले प्रम मोदीको मुक्तिनाथ भ्रमणपछि नेपालप्रति भारतीयको चासो बढेको सुनाए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले चलिए पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको भन्दै नेपालमा राजनीतिक स्थिरतासँगै भारतीय पर्यटक समेत बढ्न पुगेको जानकारी दिए ।

 यातायात सुधार, पटनाबाट पोखरासम्म सिधा हवाई सेवा, सिमामा भारतीय पर्यटक र उनीहरुका सवारीलाई दूःख र झण्जट दिन नहुने र सहज चेकिङको व्यवस्था जस्ता विषय भारतीय पक्षबाट उठाइएको थियो । सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका मध्ये १ लाख ६० हजार ८ सय ३२ भारतीयको संख्या रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।

You might also like

Comments are closed.