भ्रमण वर्षलाई लक्षित गरी रत्न मन्दिर जनवरी १ देखि खुल्दै

सन्देश श्रेष्ठ

पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुलाउने तयारी गरिएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिर यहि पुष १६ गते अर्थात जनवरी १ तारिखदेखि खोल्ने तयारी गरिएको हो । नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएपछि राज परिवारको नाममा रहेका सम्पती नेपाल ट्रष्टमा ल्याउँदा पोखराको रत्न मन्दिरपनि आएको थियो । नेपाल ट्रष्टमा आएपनि रत्न मन्दिर हालसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थिएन ।

रत्न मन्दिर खुल्ला गर्न अन्तिम तयारी भइरहेको नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवालीले जानकारी दिए । २÷३ दिनदेखि आफू पोखरा बसेर यसको अध्ययन गरिरहेको बताउँदै उनले अब काठमाडौं गएर निर्णय गर्ने बताए । ‘रत्न मन्दिर खुलाउनुपर्छ भन्ने मेरो निश्कर्ष हो,’ उनले भने, ‘अब काठमाडौं गएर नेपाल ट्रष्टका अध्यक्षसमेत रहनु भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यू समक्ष प्रस्ताव राख्छु ।’

सम्भवतः जनवरी १ बाट रत्न मन्दिर खुल्ने उनले बताए । उनले भने, ‘रत्न मन्दिर खोल्न म कन्भिन्स छु । अब ट्रष्टको अध्यक्षज्यूलाई कन्भिन्स गराउने मेरो काम हो, सायद म त्यसमा सफल हुन्छु ।’ उनले अहिलेसम्म रत्न मन्दिर नखुलेकोमा आफूलाई ग्लानी भएको बताए । ‘रत्न मन्दिर अहिलेसम्म किन खुलेन ? मलाई नखुलेकोमा ग्लानी भयो,’ ‘उनले भने, ‘यो २÷३ वर्ष अगाडि नै खुल्नु पथ्र्यो ।’

रत्न मन्दिर खुल्ला गर्ने पहिलो चरणलाई सफ्ट लञ्चिङका रुपमा लिनुपर्ने उनले बताए । ‘अहिले पनि खुल्ला गरिएन भने झन् पछि धकेलिन्छ,’ ‘उनले भने, ‘त्यसैले अहिले हतारमा खोल्ने तयारीमा छौं ।’ भिजिट नेपाल २०२० लाई लक्षित गरेर रत्न मन्दिर खुल्ला गर्न लागिएको र यसले पर्यटकको बसाई लम्ब्याउन मद्धत पुग्ने उनले बताए ।

रत्न मन्दिर खुल्ला गरिएपनि त्यस भित्रको दरबारमा भने तत्काल प्रवेश दिइने छैन । पहिलेको दरबार भएकाले त्यहाँको सामान तलमाथि हुन्छ कि भनेर अहिले तत्कालका लागि दरबार खुल्ला नगर्ने तयारी गरिएको सदस्य सचिव ज्ञवालीले बताए । दरबारमा यसअघि राज परिवारका सदस्यहरु आएर बस्ने गर्दथे । ‘सामानको सुरक्षा होस् भन्ने हाम्रो अभिप्राय हो,’ उनले भने, ‘पछि व्यवस्थित गरेर दरबार पनि खुल्ला गर्छौं ।’ उनले हिमागृह पनि खोल्ने बताउँदै त्यसका लागि केही समय लाग्ने बताए । त्यसका लागि पनि वर्कआउट भइरहेको उनको भनाई थियो ।

रत्न मन्दिर खुल्ला भएमा कम्तिमा पनि पर्यटकको आधा दिन बसाई लम्विने गण्डकी प्रदेश सांसद राजिव पहारीले बताए । रत्न मन्दिर र हिमागृह पोखराको गहना भएकाले यसलाई खुल्ला गराएर पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए ।

रत्न मन्दिर प्रवेशका लागि टिकटको व्यवस्था गर्ने तयारी गरिएको छ । तर कति टिकटदर राख्ने भन्ने तय भइनसकेको सदस्य सचिव ज्ञवालीले बताए । ‘टिकटदर ५० वा १०० हुनसक्छ,’ ‘उनले भने, ‘यो प्रारम्भिक प्रस्ताव मात्र हो, यसबारे पनि चाँडै निर्णय हुन्छ ।’ रत्न मन्दिरको व्यवस्थापन नेपाल ट्रष्टकै कर्मचारीले गर्ने उनले जानकारी दिए । नेपाल ट्रष्टको पोखरा कार्यालयमा हाल ११ जना कर्मचारी छन् । अहिले ट्रष्ट आफैले हेरेपनि पछि प्रक्रिया पु¥याएर कुनै एक कम्पनीलाई जिम्मा दिन सकिने ज्ञवालीको भनाई छ ।

पोखराको बसुन्धरापार्कबाट तालवराही मन्दिर जाने बाटोको बिचमा रहेको रत्न मन्दिरलाई अहिले पनि कडा सुरक्षा दिएर राख्ने गरिएको छ । अग्लो पर्खालले घेरिएको मन्दिरलाई नेपाली सेनाले सुरक्षा दिदै आएको छ ।

राजा महेन्द्रले वि.स.२०१४ सालमा आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा बस्न मिल्ने गरी बनाउन लगाएको यो रत्न मन्दिर स्वर्गीय राजा वीरेन्द्र शाहको नाममा रहेको थियो । कुनै समय तत्कालिन राजा महेन्द्र १३ महिनासम्म यहि दरबारमा बसेको बताइन्छ । प्यागोडा शैलीमा बनाइएको दरवारको भित्री संरचना ढुंगामा कँुदिएका आकर्षक कलाले सजाईएको छ । दरबार भएपनि नेपाली कलाकृति झल्काउने संरचनाले यो विशिष्ट देखिन्छ । १७७ रोपनी क्षेत्रफल रहेको रत्न मन्दिरको अग्र भागमा पार्किङ छ । पार्किङ लगत्तै दरबार छ भने त्यसपछि तालमा वोटिङ र फिसिङ गर्न मिल्ने क्षेत्र र पछाडिपट्टी खुल्ला चौर रहेको छ ।

You might also like

Comments are closed.