आर्थिक आवाज
तनहुँ (भिमाद), १७ कात्तिक । तनहुँको भिमादमा ‘दोस्रो भिमाद महोत्सव’ हुने भएको छ । कात्तिक २९ देखि मंसिर ११ गतेसम्म महोत्सव हुनेछ । तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईको आयोजनामा भिमाद रङ्गशालामा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘कला संस्कृतिको संरक्षण कृषि पर्यटन र व्यापार, दोश्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ नारासहित महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक राजु खनालले जानकारी दिए । ‘महोत्सवमा १ सय ९० स्टल रहनेछन्,’ उनले भने ।
महोत्सवमा भिमाद र आसपासका क्षेत्रमा उत्पादन गरिएका मास, बोडी, सिलम, गहत, पिडालु, तरुल, अदुवा, सुन्तलालगायतका खाद्यान्न, फलफूल तथा तरकारीहरु बिक्री तथा प्रदर्शनी गरिनेछ । महोत्सवमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनीलगायतका गतिविधि हुने मूल आयोजक समितिका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिए । ‘औद्योगिक तथा अटोमोवाइल प्रदर्शनी तथा खरिद बिक्री, ताजा तरकारीहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय परम्परागत खानाका परिकारहरुको प्रदर्शनी, आदिवासी, जनजातिहरुको भेषभूषा तथा कला संस्कृति र झाँकीहरुको प्रदर्शनी पनि हुन्छ,’ उनले भने ।
भिमादमा रहेका सिद्ध गुफा, नेपालकै सबैभन्दा लामो भनेर दाबी गरिएको चमेरे गुफा, भागर तपोभूमिको सिद्धगुफा, नेपाली टिपिकल गाउँहरु रघु र मिछुर्लुङ, रिसिङ, साभुङ, जिलाङ, मोहोरियालगायतका बस्तीहरु छन् । भिमाद क्षेत्रमा मृग, खरायो, वन कुखुरा, कालिजलगायतका वन्यजन्तु तथा पंछीहरुसमेत हेर्न पाइने संयोजक सुवेदीले बताए । भ्रमण अन्तर्गत सिद्ध गुफा क्षेत्र, टिपिकल गाउँ रघु तथा मिछुर्लुङको होम–स्टे, ऋषिङ्गे राजाको दरबार, हातहतियार र रानीले नुहाउने रानीपोखरी, श्रृंग ऋषिको तपोभूमि अजम्बरी माइको मन्दीर आदी रहेको ऐतिहासिक बस्ती ऋषिङलगायतका स्थानहरु प्याकेजमा राखिएको छ ।
आन्तरिक उत्पादनमा बृद्धि गर्दै यसको बजारीकरणमा सघाउने, युवा शक्तिलाई स्वरोजगारतर्फ आकर्षित गर्ने, सामाजिक तथा आर्थिक बृद्धि विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको दीर्घकालीन योजना बनाएर सम्भावनाको खोजी गर्ने, आन्तरिक पर्यटनमा टेवा पु¥याउने मेलाको उद्देश्य रहेको संयोजक सुवेदीले बताए ।
महोत्सव भिमादलाई चिनाउँदै स्थापित गर्ने उद्देश्यले आयोजना गरिएकाले यसलाई सफल बनाउन भिमाद नगरपालिकाले सबै खालको सहयोग गर्ने भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले बताइन् । महोत्सव सञ्चालन गर्न ७३ लाख २२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
Comments are closed.