भेनेजुएला प्रकरणमा मलाई फसाइयोः प्रचण्ड

काठमाडौं, १८ माघ । नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए । दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीको बाइलाइनमा समाचार छन् ।

भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो ।

यसअघि क्रिमिया, कतार, माल्दिभ्स, आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन् । तर एकाएक भेनेजुएलाबारे दाहाल बोलेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग गएको छ । दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले दिएको वक्तव्य सरकारकै पनि ‘करिब’ धारणा मान्ने कूटनीतिक प्रचलन छ । स्वभाविक रूपमा यसको असर सरकार र देशभित्र पर्छ नै । अनेकौं प्रतिक्रिया आए । सरकार पनि यसबारे बोल्न बाध्य भएको छ ।

दाहालले १० माघमा वक्तव्य दिए । भोलिपल्टै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओलीले कुनै पनि विषयमा टिप्पणी गर्न हतारिनु नहुने बताए । अमेरिकाले परराष्ट्र मन्त्रालय मार्फत यसमा सरकारको धारणा पनि माग्यो ।

दाहाल आफैं अहिले वक्तव्यको भाषामा आफूलाई फसाइएको निकट नेताहरूसँग खुलासा गर्न थालेका छन् । ‘वक्तव्यको भाषाका विषयमा कहीं न कहीं साथीहरूले मलाई फसाउनुभयो,’ दाहालको भनाइ उद्धृत गर्दै उच्च स्रोतले अन्नपूर्णसँग भने, ‘वक्तव्य दिनु ठिकै थियो । तर भाषामा अलिकमजोरी रह्यो । कूटनीतिक भाषा प्रयोग गर्न सकिएन ।’

स्रोतका अनुसार, दाहालले वक्तव्य दिने विषयसँग वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटा पनि जोडिएका थिए । नेता श्रेष्ठसँग यसबारे सामान्य परामर्श गरेपनि वक्तव्यमा उल्लेखित भाषाको अन्तिम मस्यौदा चाहिँ नेपाल र दाहाल बसेर गरेका थिए । दाहालले वक्तव्य दिँदैछन् भन्ने उनको सचिवालयका कसैलाई पनि थाहा थिएन । पत्नी सीता दाहाल र खानेपानीमन्त्री समेत रहेकी बुहारी बिना मगर भाइरल ज्वरोका कारण सुमेरु अस्पतालमा उपचाररत थिए। सचिवालयका अन्य सहयोगी पनि त्यस दिन दाहाल निवासमा थिएनन् ।

शुक्रबार बिहानै वरिष्ठ नेता नेपालले दाहाललाई टेलिफोन गरेर बलराम बास्कोटा खुमलटार आउँदै छन् भनी नाम टिपाएका थिए । दाहाल पनि ज्वरो आएर आराम गरिरहेका थिए । बास्कोटा एक सहयोगीका साथ खुमलटार पुगेर आफूसँगै लगेको ल्यापटपबाट वक्तव्यको ‘ड्राफ्ट’ पेनड्राइभमा छोडेर निस्केका थिए ।

त्यसपछि दाहालले नेपालसँग छलफल गरेर वक्तव्यलाई अन्तिम रूप दिएका थिए । प्रधानमन्त्री ओली त्यसबेला स्वीजरल्यान्डको डावोसमा थिए । पार्टी एकतापछि चाडपर्वमा बाहेक आन्तरिक सर्कुलरदेखि अन्य सबै मामिलामा दुवै अध्यक्षको संयुक्त हस्ताक्षरमा मात्र वक्तव्य आउने गरेका थिए ।

तर २४ घण्टापछि स्वदेश आइपुगैन अर्का अध्यक्षलाई नपर्खी दाहालले भेनेजुएलाबारे हतारमा वक्तव्य दिए । केही नेताले दाहालको वक्तव्यको भाषा फेरिएको बताइरहेका छन् । दाहाल भने यसबारे केही बोलेका छैनन् । दाहाल बुधबारबाट सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।

दाहालनिकट नेताहरू पनि वक्तव्यको भाषाप्रति सन्तुष्ट छैनन् । ‘हामीले यो विषयमा बोल्नु नै ठूलो कुरा हुन्थ्यो । वक्तव्यको भाषा सन्तुलित र कूटनीतिक भए राम्रो हुन्थ्यो,’ दाहाल निकट एक नेताले भने, ‘नाम लेखेर, किटान गरेर लेखिनु राम्रो होइन । त्यहाँ कमजोरी भयो ।’

You might also like

Comments are closed.