भैंसी विकासको कार्ययोजना बनाउन थिमेटिक फुल पावर कमिटी गठन

पोखरा । भैंसी विकासको दश वर्षे मार्गचित्र बनाउन थिमेटिक फुल पावर कमिटी गठन गरिएको छ । पशु सेवा विभागका महानिर्देशकसहित देशभरका कृषि वैज्ञानिक, पशु विज्ञ, पशु प्राविधिकसहित भैंसी पालक किसान अगुवाहरुको पोखरामा सोमबार र मंगलबार सम्पन्न दुई दिने भैंसी विकास कार्यशालाले भैंसी विकासको दश वर्षे कार्ययोजना बनाउन थिमेटिक फुल पावर कमिटी गठन गरेको हो । संघीय सरकारको पशु विकास विभाग र राष्ट्रिय प्रजनन् कार्यालय, पोखराको संयुक्त आयोजनामा भएको भैंसी विकास कार्यशालाबाट पशु सेवा विभागकी उप–महानिर्देशक डा.दमयन्ती श्रेष्ठको संयोजकत्वमा बनेको कमिटीमा ५ वटा उपसमिति गठन गरिएको छ । जसमा प्रत्येक उप समितिमा ५÷५ जना सदस्य रहने पशु विकास अधिकृत खडेन्द्र सापकोटाले जानकारी दिए ।

थिमेटिक फुल पावर कमिटी अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा.भूमिनन्दन देवकोटाको संयोजकत्वमा भैंसी संरक्षण र प्रजनन्, प्रमुख पशु विकास अधिकृत डा.नम्रता सिंहको संयोजकत्वमा भैंसीको दाना र पोषण सुधार, कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव डा.बिजयनन्द झाको संयोजकत्वमा भैंसीको स्वास्थ्य र भैंसी कल्याण सुधार, प्रमुख पशु विकास अधिकृत रुद्रप्रसाद पौडेलको संयोजकत्वमा भैंसीको बजार र मूल्य श्रृंखला र पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माको संयोजकत्वमा भैंसी विकासमा नीति तथा ज्ञान ब्यबस्थापन उप समिति गठन गरिएको सापकोटाले जानकारी दिए ।

श्रेष्ठ संयोजकत्वको कमिटीलाई भैंसी विकासको दश वर्षे मार्गचित्र बनाउन १ महिनाको समयअवधी तोकिएको छ । यो अवधीको पहिलो तीन सातामा पाँच वटै समितिले आ–आफ्नो विधागत सुझाव मूल कमिटीलाई बुझाउनेछ । उपसमितिले सिफारिस गरेको सुझावका आधारमा मूल कमिटीले प्राप्त सुझावलाई सम्पादन गरेर निश्कर्षसहित दश वर्षे भैंसी विकास मार्गचित्र बनाउँछ र त्यसलाई सार्वजनिक गर्छ । सार्वजनिक गरिएको उक्त मार्गचित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुझाएपछि मन्त्रालयले पारित गरेर मन्त्री स्तरबाट निर्णयका लागि पेश गर्नेछ र अन्त्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रीले तोक लगाएपछि कार्यान्वयनमा आउने जनाइएको छ ।

यसैबीच, कार्यशालाले पशु विकास समाज गठनका लागि तयारी गर्न २६ सदस्यीय मुल कमिटी गठन गरेको छ । समितिलाई समाज गठनका लागि विधान तयार गर्ने, दर्ता गर्ने र सम्मेलन गर्ने जिम्मा तोकिएको छ । कमिटीको संयोजकमा कृषि वन विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डा.भूमिनन्दन देवकोटा रहेका छन् भने सदस्यहरुमा पशु प्रजनन् अनुसन्धान महाशाखा नार्ककी बरिष्ठ वैज्ञानिक डा. निना अमात्य गोर्खाली, पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत द्वय डा.लोकनाथ पौडेल र डा.चन्द्र ढकाल, राष्ट्रिय पशु श्रोत ब्यबस्थापन तथा प्रजनन् कार्यालयका बरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतो र डा.खगेन्द्रराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा.नवीन घिमिरे, कृषि वन विश्वविद्यालय रामपुर चितवनका उप–प्राध्यापक डा.गोकर्ण गौतम, कृषक प्रतिनिधि रहेका छन् । त्यस्तै समितिमा ७ वटै प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले सिफारिस गरेका १÷१ जना तथा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीका १ जना रहेको समिति गठन गरिएको पशु विकास अधिकृत खडेन्द्र सापकोटाले जानकारी दिए ।

कार्यशालामा सहभागिहरुले दूधालु भैंसी सुधार कार्यक्रमलाई निरन्तरता दिन माग गरे । किसानलाई प्रोत्साहन गर्न र भंैसीको विकासका लागिपनि दूधालु भैंसी सुधार कार्यक्रम आवश्यक भएको भन्दै उनीहरुले यसलाई निरन्तरता दिन माग गरेका हुन् । यो कार्यक्रम अन्तर्गत हाल उत्कृष्ट भैंसी फार्मको पहिचान गर्ने, कृतिम गर्भाधान गराउने, प्रत्येक महिनामा दूधको रेकर्डिङ राखेर दूधको उत्पादनको अवस्धा, दूधको गुणस्तर छुट्याउने, राँगोको प्रजनन् मान निकाल्ने, उत्कृष्ट प्रजनन् मान भएको राँगोलाई सरकारले नै उत्कृष्ट मूल्य दिएर खरिद गर्ने, उक्त उत्कृष्ट प्रजनन् मान भएको राँगोलाई विर्य उत्पादनमा प्रयोग गरिदै आएको पशु विकास अधिकृत सापकोटाले बताए । यस्तो उत्कृष्ट राँगो पालक किसानलाई प्रोत्साहन गर्न निःशुल्क औषधी उपचारदेखि उत्कृष्ट राँगोसमेत सरकारले नै उत्कृष्ट मूल्य दिएर खरिद गर्दा किसान लाभान्वित हुनुका साथै उनीहरु उत्साहित भएकाले यसलाई निरन्तरता दिन माग गरिएको उनले बताए ।

कार्यशालामा सहभागि किसानहरुले भने भैंसीको छुट्टै विभाग बनाउनसमेत माग गरे । समग्र्रमा राख्दा भैंसीको विकास पछि परेको भन्दै उनीहरुले छुट्टै विभाग नै गठन गरेर यसको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन् । कागजमा फार्म देखाएर अनुदानको नाममा राज्यको धन लुट्नेलाई सरकारले कार्वाही गरोस्,‘किसान अगुवा जगन्नाथ सापकोटाले भने,‘तर मारमा परेका किसानलाई राज्यले उकासोस्, राज्यको निगरानीमा फार्म होस् ।’

कार्यशालाको समापन कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माले भैंसी विकासको दश वर्षे कार्ययोजना बनाउन गठीत थिमेटिक फुल पावर कमिटीले दिएको प्रतिवेदनका आधारमा भैंसी विकास कार्ययोजना बनाइने र सोहि अनुसार सरकारले बजेट विनियोजन गर्ने बताए । उनले यहि वर्षभित्र भैंसीका लागि ३०÷३५ करोड रुपैयाँ बजेट निकासा गरिदिने आश्वासन दिदै त्यो बजेट मान्छेको अनुहार हेरेर नभई भैंसी हेरेर दिइने स्पष्ट पारे । जहाँ भैंसी धेरै छ त्यहिं बजेट धेरै जान्छ,‘उनले भने,‘जहाँ भैंसी छैन त्यहाँ बजेट जाँदैन, कम हुने ठाउँमा बजेटपनि कम जान्छ ।’ उनले भैंसीको विकास अनिवार्य आवश्यक्ता भएको बताउँदै लाइभस्टकमा आत्मनिर्भर बन्नका लागि संघले मात्र नभई प्रदेश र स्थानिय सरकारलेपनि पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.