मणिपाल अस्पताल विवादलाई दीर्घकालीन समाधान गर्न पहल, प्रदेश सरकारबाट समिति गठन

पोखरा, २४ साउन । पोखराको मनिपाल शिक्षण अस्पताल व्यवस्थापन र कर्मचारीबीचको विवाद समाधान गर्न समिति गठन भएको छ । बुधबार बसेको गण्डकी प्रदेश सरकारको बैठकले समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

पूर्व जिल्ला न्यायाधीश लिप्तबहादुर थापाको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ । बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकार मातहत ल्याई सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको बस्नेतले जानकारी दिए ।

केही दिनअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पताल निरीक्षण गर्दा सिटिस्क्यान, एमआरआई जस्ता अत्यावश्यक यन्त्र नभएको, सेवाग्राहीले धेरै दुःख पाएको जस्ता समस्या फेला परेकाले ती समस्या समाधान गर्न अस्पताल प्रदेश सरकार मातहत ल्याउनु परेको बस्नेतले जिकिर गरे ।

त्यस्तै बैठकले प्रशासकीय कार्यविधि विधेयक २०७५ र प्रादेशिक सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

You might also like

Comments are closed.