मधुमेह तथा रगतमा हुने खराब बोसोको निशुल्क परिक्षण

पोखरा, १० चैत ।
बाराही बचत तथा ऋण सहकारीले शनिबार आयोजना गरेको शिविरमा ३ सय ५ जनाको निशुल्क जाँच गरिएको छ । सहकारीले सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा मधुमेह तथा रगत हुने खराब बोसो सित्तैमा परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

कार्यक्रममा ग्यास्ट्रो केयर प्रालि(पेट तथा कलेजो उपचार केन्द्र) का डा सुवास भट्टराईले मधुमेह तथा रगतमा हुने खराब बोसो नियन्त्रण र यसका उपचारबारे प्रकाश पारे । समुदायमा यी रोगबारे अनेक भ्रम रहेकाले भ्रमको पछि नलाग्न आग्रह गरे । ‘मधुमेहमा भात खानै हुन्न, यसको मुख्य कारण वंशाणुगत हो भन्ने भ्रम हो,’ उनले भने, ‘समस्या भातमा होइन, भातको मात्रामा छ ।’ डा भट्टराईले चुरोट, रक्सी सेवन नगर्न, शारीरिक व्यायम गर्न र प्राकृतिक खालका खानेकुरा खान सुझाव दिए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले समुदायसँग सहकार्य गर्दै युआरएल अघि बढ्ने बताए । उनले स्थापनादेखि विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ४७ शिविरमार्फत् २७ हजारले सेवा पाएको उल्लेख गरे । पन्तले भने, ‘अत्यावश्यक सेवा र स्वास्थ्य चेतना सर्वसाधारणले सँगसँगै पाउन भनी शिविरहरु आयोजना गरेका हौं ।’

सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष महेन्द्र श्रेष्ठ र सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य राधिका शर्माले गरेका थिए ।

 

footwear exchange
You might also like

Comments are closed.