मन्त्री अधिकारीले गरे आफ्नो क्षेत्रको योजना सार्वजनिक

 

पोखरा, १० मंसीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो क्षेत्रको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका १७ वटा योजना सार्वजनिक गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरी उनले आफू निर्वाचित कास्की क्षेत्र नम्बर २ को लागि ४ करोड बराबरको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका १७ योजनाहरु सार्वजनिक गरेका हुन् । आफूसहित प्रतिनिधि सभाका समानुपातिक सांसदहरु, प्रदेशका निर्वाचित तथा समानुपातिक सांसदहरु, पोखरा महानगरपालिका प्रमुख, उपप्रमुखलगायत सरोकारवालाहरुको परामर्श समिति र निर्देशक समितिको बैठकले योजना तय गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

मन्त्री अधिकारीको कास्की निर्वाचन क्षेत्र नम्बर २ ले ४ करोडको बजेट मध्ये बाटो र पुलमा मात्र २ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । पोखरा महानगरपालिकामा मात्र पर्ने यस क्षेत्रमा सडक र सडक सम्बद्ध पुलका लागि १० वटा योजना परेका छन् ।

योजना अन्तर्गत १६ वटा योजना एक वर्षिय परेका छन् भने एउटा योजना मात्र बहुवर्षिय परेको छ । कास्की क्षेत्र नम्बर २ ले वहुवर्षिय योजना अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशेपुल निर्माणका लागि बजेट छुट्याएको हो । यस आयोजनाका लागि ५० लाख छुट्याइएको छ । पोखराको कम व्यस्त मध्ये पर्ने सृजनाचोकमा आकाशेपुल निर्माणका लागि रकम छुट्याइएको हो । आकाशेपुल निर्माण गर्नका लागि बजेट छुट्याइएको सृजनाचोक पोखराका पृथ्वीचोक, सभागृहचोक, महेन्द्रपुल र चिप्लेढुंगाचोक बढी कम व्यस्त र ट्राफिक जाम कम हुने चोक हो । सभागृहचोकमा आकाशेपुलका लागि पर्याप्त ठाउँ नहुँदा सृजनाचोकमा आकाशेपुल निर्माण गर्नका लागि छनौट गरिएको मन्त्री अधिकारीले पत्रकार भेटघाटमा स्पष्ट पारे । उनले पोखरा महानगरपालिका र सम्बन्धित वडासँग मिलेर आकाशेपुल निर्माण गरिने बताए । साथै उनले आकाशेपुलको निर्माण चाँडै थालिनेपनि उल्लेख गरे ।

योजना अन्तर्गत पोखरा १६ स्थित गणेश मन्दिरदेखी अम्विकाटोल, कालिखोला डिलसम्मको बाटोका लागि ५० लाख, पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको मुल गेटबाट आदर्श मार्गसम्मको बाटोका लागि ३० लाख, पोखरा ३३ स्थित गाईगौंडा नयाँपुल चिरगाडी सडकका लागि २० लाख, पोखरा ७ मुलखेत र गैरीखेत जोड्ने पक्की पुल निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, पोखरा २० स्थित घारीहुँदै पिपलडाली वडा कार्यालय सम्मको सडक स्तरोन्नतीका लागि ३५ लाख, पोखरा ३३ कालिका स्थान देउराली बाटो निर्माणका लागि १० लाख, पोखरा २१ ीस्थत गिरी गाउँदेखी पँधेरा लाम्पाटा सम्मको सडकका लागि १० लाख र पोखरा ४ आदर्श मार्गको बाटो ढलानका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी खानेपानीका लागि ३ वटा योजना तय गरिएको छ । जसका लागि ७० लाख विनियोजन गरिएको छ । योजना अन्तर्गत पोखरा ११ स्थित काहुँ खानेपानी आयोजनाको स्तरोन्नतीका लागि २५ लाख, पोखरा १७ मा खानेपानी बिस्तारका लागि ३५ लाख र पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थान गेटदेखी घलेचोक सम्मको खानेपानी विस्तारका लागि १० लाख छुट्याइएको छ ।

त्यस्तै, भवन तथा पार्क निर्माणका लागि ३ वटा योजना परेका छन् । जसका लागि ४५ लाख बजेट विनियोजन भएको छ । योजना अन्तर्गत पोखरा २१ स्थित हर्राबोट खेल मैदान तथा पार्क निर्माणका लागि २५ लाख, पोखरा ११ तुलसी मार्गस्थित कृयापुत्री भवनका लागि १० लाख र पोखरा ९ मा रहेको शिवटोल बहुउद्धेश्यीय सामाजिक भवन एवम् पार्क निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ ले कुलो तथा ढल व्यवस्थापनमा एउटा योजनाका लागि बजेट विनियोजन गरेको छ । योजना अन्तर्गत पोखरा ४ स्थित पोखरा बेसीफाँट कुलो तथा ढल व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याएको हो ।

योजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले बजेटको कार्यान्वयन वडा कार्यालयले र अनुगमन जिल्ला समन्वय समितिलाई गर्न आग्रह गरे । उनले भने,‘हामीले योजना बनाएर बजेट दिने हो, यसको कार्यान्वयन सम्बन्धित वडा कार्यालयले गर्छ र त्यसको अनुगमन जिल्ला समन्वय समितिले गर्छ, म कार्यान्वयन र अनुगमनको जिम्मा लिईदिन दुबै संयन्त्रलाई आग्रह गर्छु ।’ उनले योजना कार्यान्वयन र बजेट खर्च पारदर्शी रुपमा हुने र त्यो जवाफदेही तरिकाले हुने उद्घोष गरे । मन्त्री अधिकारीले पहिले पहिले सामाजिक संघसंस्थाको भवन निर्माणलाई प्राथमिकता दिएर योजना बनाइने गरेको भएपनि यसपटक सडक, पुल र खानेपानीका पूर्वाधार निर्माणमा प्राथमिकता दिएर योजना बनाइएको दाबी गरे ।

You might also like

Comments are closed.