मर्जरले सहकारीलाई बलियो बनाएको छ : आचार्य

टुल्कनाथ आचार्य
अध्यक्ष
सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लि.

सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको वित्तीय अवस्था कस्तो छ ?
सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाको हाल सेयर पुँजी ६ करोड ६२ लाख १७ हजार रुपैयाँ छ । ३८ करोड २३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड ६६ लाख ९८ हजार रुपैयाँ ऋण लगानी गर्न हामी सफल छौं । जगेडा कोषमा २ करोड ८५ लाख ५ हजार रुपैयाँ छ । सहकारी शिक्षा कोषमा २ लाख ८ हजार रुपैयाँ, सहकारी विकास कोषमा ८ लाख ७० हजार रुपैयाँ छ भने घाटापूर्ति कोषमा ३३ लाख ५३ हजार रुपैयाँ छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ७५ लाख रुपैयाँ सहकारीका सेयर सदस्यहरुलाई लगानी गरेका छौं ।

सुरक्षा पालुवा मर्जरमा उदाहरणीय बनेको छ । मर्जर पछि प्राप्त उपलव्धिलाई कसरी सम्झनुहुन्छ ?
संस्था सवल, सक्षम तथा ठुलो आकारको रुपमा स्थापित भएको छ । सेयर सदस्यहरुलाई धेरै स्थान (सेवाकेन्द्र) बाट सेवा उपलब्ध गराउन सकिएको छ । प्रधान कार्यालय पोखरा लेखनाथ महानगरपालिका ३३ कालिका स्थानमा छ । पोखरा ३३ लामगादी पुडी, २९ आर्दशचोक, ८ न्युरोड लगायतका स्थानमा सेवा केन्द्र छन् । सेयर सदस्य र आम समुदाय प्रति विस्वास बढेको छ । सेयर सदस्यलाई आवश्यक कर्जा सरल रुपमा उपलब्ध गराउन सकिएको छ । सेयर सदस्यलाई छिटो छरितो र सुलभ तरिकाबाट सेवा प्रदान गर्नको लागि नेपालमा अधिकांस बैक तथा वित्तीय संस्थाले प्रयोगमा ल्याउने आधुनिक सफ्टवयरको प्रयोग गरिएको छ । जस्तै ः अत्याधुनिक कम्प्युटर सेवा, मोबाइल र डिसहोम रिचार्ज सेवा, टेलिफोन महशुल भुक्तानी सेवा, बचत तथा ऋणको मिनी स्टेटमेन्ट हेर्न सकिने सेवा, बचतबाट पैसा लिन दिन सकिने, एविविएस् तथा बैकिङ सेवा लगायत छन् ।

सहकारीले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेको छ ?
कृषि, व्यापार, शैक्षिक, स्वरोजगार, आवास, हायर पर्चेज कर्जामा लगानी भइरहेको छ । कृषि अन्तर्गत पशुपालन, कुखुरापाालन, माछापालन तथा तरकारी खेतीमा लगानी गरेका छौं । अधिकांश सहकारी बचत तथा ऋणको कारोबारमा अग्रसर छन् । हामीले बचत तथा ऋणका साथै सेवामुखी योजनामा बढी केन्द्रित भई सेयर सदस्यको आर्थिक, सामाजिक तथा व्यक्तिगत रुपमा क्षमता अभिवृद्धि गर्ने क्रियाकलाप संचालन गरिरहेका छौं ।

सेयर सदस्यको क्षमता अभिवृद्धिको लागि के कस्ता गतिविधि संचालन गर्नुभएको छ ?
नियमित रुपमा सहकारी शिक्षा तालिम प्रदान गरिरहेका छौं । अध्ययन अवलोकन भ्रमणको आयोजना गरेका छौं । विभिन्न पेशा तथा व्यवसायसँग सम्वन्धित प्राविधिक तालिम उपलब्ध गराइरहेका छौं ।

सामाजिक उत्तरदायित्वलाई कसरी वहन गर्नुभएको छ ?
सहकारीले जन्मदेखि मृत्युसम्मका विभिन्न उत्तरदायित्व बहन गरेको छ । महिला सेयर सदस्यले बच्चा जन्माउदा २ सन्तानसम्म ३ हजार रुपैयाँ सुत्केरी खर्च उपलब्ध गराउँछौं । सेयर सदस्यको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ क्रिया खर्च बापत दिदै आएका छौं । प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौं । हरेक वर्ष नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरेका छौं । छात्रवृत्ति वितरण तथा दैवी प्रकोपमा आर्थिक तथा जिन्सी सामान सहयोग गर्दै आएका छौं ।

You might also like

Comments are closed.