महानगरकै स्वीकृतिमा पोखरामा मापदण्ड बिपरित क्रसर उद्योग सञ्चालन

सुरेन्द्र पौडेल
पोखरा, २० फागुन ।  पोखरा लेखनाथ महानगरपालिका भित्र मापदण्ड बिपरित क्रसर उद्योगहरु सञ्चालनमा आएका छन् । महानगरपालिकाकै स्वीकृतिमा क्रसर उद्योगहरु सञ्चालनमा आएका हुन् । पोखरा १ बगरस्थित बागलङु राजमार्गको नजिक, पोखरा २१ निर्मलपोखरीस्थित नदी र बाटोको नजिक उद्योग सञ्चालनमा आएका छन् । पोखरा १४ को बाच्छेबुडुवास्थित सेती नदीकै आडमा क्रसर उद्योगहरु सञ्चालनको तयारीमा छ ।

तत्कालीन मापदण्ड पुरा गरेर खुलेपनि नयाँ मापदण्ड लागुभएपछि पुराना क्रसर उद्योगहरु समेत नवीकरण नभएको सन्दर्भमा महानगरले नयाँ उद्योग खुल्ने अनुमति दिएको हो । सरकारले राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर तथा हाइटेन्सन लाइनबाट १ सय मिटर दुरी टाढा क्रसर उद्योग सञ्चालन गर्न नयाँ नीति ल्याइएको थियो । शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थानबाट, सुरक्षा निकायबाट, वन निकुञ्ज तथा आरक्ष र घनाबस्तीभन्दा २ किलोमिटर टाढाको दुरीमा मात्र उद्योग सञ्चालन गर्न सरकारले निर्देशन जारी गरेको थियो ।

सर्वोच्च अदालतको २०६७ साउन २१ गतेको आदेशअनुसार गठित प्राविधिक समितिको सिफारिसमा २०७१ असार मसान्तभित्र लागू हुनेगरी क्रसर तथा खानी उद्योग सञ्चालनको मापदण्ड निर्धारण गरिएको हो । पोखरा तथा आसपासका जिल्लामा रहेका प्राय सबै पुराना उद्योगहरुले समेत उक्त मापदण्ड पालना गरेका छैनन् । जसले गर्दा पुराना उद्योगहरुको समेत दर्ता नवीकरण भएको छैन् । पुराना उद्योगहरुकै दर्ता नवीकरण नभएको सन्दर्भमा वातावरणमा प्रत्यक्ष असर गर्नेगरी मापदण्ड बिपरित नयाँ क्रसर उद्योग सञ्चालनलाई स्वीकृति दिइएको हो ।

पोखरा १ बगरमा राजेश मल्लले उद्योग सञ्चालनमा ल्याएका हुन् । महानगरपालिकाकै स्वीकृतिमा सेतीमा ड्याम बनाउने प्रयोजनका लागि मात्र उद्योग सञ्चालनमा ल्याएको उनले बताए । पोखरा २१ मा चिरञ्जीवी पोखरेलले उद्योग सञ्चालनमा ल्याएका छन् । यस सन्दर्भमा वडा अध्यक्ष खगराज आचार्यसँग जिज्ञासा राख्दा वडा समितिको बैठकबाट निर्णय गराएरै उद्योग सञ्चालन अनुमति दिइएको बताए । मापदण्डलाई भन्दा स्थानीय आवश्यकतालाई मध्यनजर गरी उद्योग खोल्न दिइएको उनले बताए । उद्योगबाट उत्पादिन सामग्रीहरु स्थानीय ग्रामीण बाटोको स्तरउन्नतिको योजना भन्दा बाहिर बिक्री गर्न नपाउने शर्तमा स्वीकृति दिइएको उनले भनाइ छ ।

पोखरा १४ मा लिलाबहादुर लामिछाने, रुमबहादुर कार्की लगायतले उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् । वडा तथा महानगरपालिकाको स्वीकृतिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रोजेक्ट अवधिका लागि मात्र उद्योग सञ्चालन अनुमति लिइएको उनले बताए । महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चालनमा आएका उद्योगहरुको सन्दर्भमा प्राविधिकहरुले अनुसन्धान गरिरहेको जानकारी दिए । पोखरा १ मा डाइभर्सन बनाउन, पोखरा १४ मा उद्योग धनीले आफ्नै जग्गा उत्खनन् गर्न र विमानस्थल निर्माणमा सघाउन तथा पोखरा २१ मा वडामा विकासका कामहरु गर्न क्रसर उद्योग खुलेको स्वीकार्दै मेयर जिसीले प्राविधिकहरुको अनुसन्धान पछि थप कुरा भन्न सकिने बताए । कास्कीकै अन्नपूर्ण गाउँपालिकामा समेत मापदण्ड बिपरित क्रसर उद्योग निर्माणाधीन अवस्थामा छ । तनहुँको कोत्रे, हलेदी वरपर पनि मापदण्ड बिपरित उद्योगहरु खुलिरहेका छन् ।

क्रसर उद्योग खोल्न उद्योग विभागबाट स्वीकृति लिनुपर्छ । उद्योग विभागको स्वीकृति बिना ठूला क्रसर उद्योग खोल्न नपाइने बताउँछन् कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी । वातावरणीय प्रभाव मूल्यांकन गरेर विभागको स्वीकृतिमा खुलेको उद्योगबाट महानगर तथा स्थानीय तहले कर संकलन गर्न मात्र पाउँछ ।

You might also like

Comments are closed.