महानगरले घरभाडा कर उठायो तर घरभाडा ऐन ल्याएन : दामु

पोखरा, २४ असोज । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरा महानगरपालिकाले कर लिन मात्रै जोड दिएको आरोप लगाएका छन् । पृथ्वी होटल व्यवसायी समितिले पोखरा उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापनसहित नेपालीको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत तथा छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले महानगरपालिकाले आफ्नो कर्तव्य पालना नगरी कर मात्रै लिनेगरेको बताएका हुन् । घरभाडा विवाद टुंग्याउन घरभाडा ऐन बनाउनुपर्नेमा जोड दिदै उनले भने,‘पोखरा महानगरपालिकाले घरभाडा कर चाहिं उठायो, तर घरभाडा ऐन बनाउन भने चासो दिएको छैन ।’ उनले घरभाडा ऐन बनाउन सकेमा घर धनी र घरभाडामा लिनेहरुको समाधान गर्न सकिने बताए ।

अध्यक्ष अधिकारीले पोखराका उद्योगी, व्यवसायीको समस्यादेखी समग्र पोखराको विकासमा सबै संघसंस्था बिच हातेमालो गर्नु आवश्यक रहेको बताउँदै यसका लागि अपिल गरे । उनले सरकारले चाहे पृथ्वीचोकको बसपार्क, पार्किङलगायतका समस्या समाधान गर्न सकिने उल्लेख गरे । स्थानिय सरकारको पहलमा पालिखेचोकको समस्या समाधान भएकाले अब अन्य ठाउँको पनि ईच्छाशक्ति देखाउन सके समाधान गर्न सकिने उनको भनाई छ । उनले पोखरा बसपार्क, नीजि क्षेत्रको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले पृथ्वीचोकलाई लेकसाइडजस्तै बनाउन सकिने र त्यसका लागि पोखरा उद्योग वाणिज्य संघले सघाउनुपर्ने बताए । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरे र सञ्चालन महासचिव महेश्वर ज्ञवालीले गरेका थिए ।

You might also like

Comments are closed.