महानगरले समयमै घर हस्तान्तरण नगरेकाले भाडा नतिरेका हौं : बस्नेत

सन्देश श्रेष्ठ
पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नम्बर ९ सृजनाचोकस्थित सपिङ कम्प्लेक्स भाडामा लिएको जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिले महानगरपालिकाले तोकिएको मितिमा घर निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरेकाले घरभाडा नतिरेको बताएको छ ।

जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी महानगरपालिकाको स्वामित्वमा रहेको सृजनाचोकस्थित सपिङ कम्प्लेक्स महानगरपालिकाले सम्झौता अनुसार तोकिएको समयमा हस्तान्तरण नगर्दा आफूहरुले सटर भाडामा लगाउन नपाएका कारण समग्र कम्प्लेक्सको भाडा तिर्न नसकेको बताएको हो । साथै उसले घर हस्तान्तरण नगर्ने तर भाडा भने शुरुवातदेखिकै मागेर अन्याय गरेकोसमेत आरोप लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जस्ट इन टाइमका सञ्चालक सुरेन्द्र बस्नेतले भने, ‘हामीमाथि अन्याय भयो, महानगरपालिकाका कारण हामी अन्यायमा प¥यौं ।’

पोखरा महानगरपालिका र जस्ट इन टाइमबीच २०७३ साल फागुन ४ गते वार्षिक ७६ लाख रुपैयाँ तिर्ने गरी ५ वर्षका लागि महानगरपालिकाको स्वामित्वमा रहेको सृजनाचोकस्थित सपिङ कम्प्लेक्स भाडामा लिनेदिने सम्झौता भएको थियो । तर जस्ट इन टाइमले हालसम्म सम्झौता अनुसार भाडा नतिरेको भन्दै महानगरपालिकाले गत फागुन ३ गते घरभाडा भुक्तानी गर्न भन्दै पत्र काटेको देखिएको छ । महानगरपालिकाको पत्र अनुसार जस्ट इन टाइमले १ करोड ३३ लाख १४ रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

तर जस्ट इन टाइमले भने महानगरपालिकाले सम्झौता अनुसार तोकिएको समयमा घर निर्माण सम्पन्न नगर्दा झण्डै एक वर्ष ढिलागरी काम गर्न पाएकाले सोही समय अनुसारदेखि सम्झौता लागू हुनुपर्ने बताउँदै आएको छ । महानगरपालिकाले जुन दिनदेखि घर निर्माण सम्पन्न गरी काम गर्न पाएको हो सोही महिनादेखीको हिसाब गरेर घरभाडासमेत बुझाइसकेको जस्ट इन टाइमका सञ्चालक सुरेन्द्र बस्नेतको जिकिर छ । उनले ३८ लाख रुपैयाँ सम्झौताको समयमा र बाँकी ३८ लाख रुपैयाँ फागुनको पहिलो साता नै बुझाइसकेको जिकिर गरे ।

जस्ट इन टाइमले २०७३ फागुन ४ गते घरभाडा सम्बन्धी सम्झौता भएपनि सम्झौता अनुसार घर निर्माण सम्पन्न नभएपछि फागुन २८ गते नै निवेदन दिएर घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न माग गरेको जनाएको छ । सञ्चालक बस्नेतले भने, ‘समयमै घर निर्माण सम्पन्न नभएपछि काम गर्ने वातावरण भएन, हामीले सम्झौता भएको २४ दिन पछि अर्थात २०७३ फागुन २८ गते घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न माग गर्दै निवेदन दिएका थियौं, तर सो निवेदन अहिलेसम्म पनि महानगरपालिकाको बोर्ड बैठकमा पेश भएन ।’ त्यसपछि पनि पटक÷पटक मौखिक र ६ पटकसम्म लिखित निवेदन दिदापनि महानगरपालिकाले बेवास्ता गरेको उनको गुनासो छ ।

बस्नेतले घर निर्माण सम्पन्न नभई काम गर्ने वातावरण नै नभएका कारण पहिलो वर्षको घरभाडा नतिर्ने स्पष्ट पारे । २०७४ साल भदौमा घर निर्माण सम्पन्न भएको र त्यसको ६ महिनापछि मात्रै विद्युत जडान भएकाले माघदेखि मात्र काम गर्न पाएकाले त्यसपछिको मात्रै घरभाडा तिर्ने उनको भनाई छ ।

जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिका अर्का सञ्चालिका सञ्जु गुरुङले ५ वर्षे सम्झौतालाई १० वर्ष थपेर १५ वर्षे सम्झौता बनाएको खण्डमा भने सम्झौता अनुसारकै भाडा तिर्ने बताइन् । व्यवसाय गर्ने बाटो महानगरपालिकाले बनाई दिनुपर्ने बताउँदै उनले भनिन्, ‘कमाउने बाटो नै बन्द गरेर भाडा तिर भनेर मात्र हुँदैन, कमाउने बाटो नै बन्द भएपछि घरभाडाचाहिं कसरी तिर्ने ? हामीलाई कमाउने बाटो बनाई दिनुस् ।’ जस्ट इन टाइमले घरभाडा नतिरेको निहुँमा महानगरपालिकाले अन्य कारोबारसमेत रोक लगाउँदा आफ्नो व्यवसाय नै चौपट भएको उनले गुनासो गरिन् ।

You might also like

Comments are closed.