कास्की (लेखनाथ) । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबीचको सम्बन्ध जिवन्त हुनुपर्ने बताएका छन् । महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका प्रधान चुनावी अभियानसहित बिहीबार लेखनाथ उद्योग वाणिज्य संघ पुगेका हुन् ।
महासंघको ५४औं वार्षिक साधारण सभा निर्वाचन मंसिर ११ र १२ मा हुन काठमाडौंमा हुँदैछ । लेखनाथ उद्योग वाणिज्य संघले राखेको स्वागत तथा छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै प्रधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको माया र प्रेमले उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो ब्यवसायलाई एकातिर थाती राखी साना तथा मझौला उद्योग व्यवसायीहरुका समस्याप्रति सजक हुँदै आफ्नो जीवनको २८ वर्ष महासंघमा लागेको उनले बताए ।
महासंघका केन्द्रीय सदस्य दीनेश श्रेष्ठले सबै ब्यवसायीलाई केन्द्रीय तहसम्म पहुँच पु¥याउने उद्देश्यले आफूहरु चुनाबी प्रचारप्रसारको अभियानमा घरदैलोमा लागेको बताए । महासंघको आसन्न निर्वाचनका लागि चन्द्र ढकालले समेत वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरिसकेका छन् ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला लगायतले बोलेका थिए । महासंघको ५४औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उमेदवारी दिदैछन् ।
Comments are closed.