‘महिलामा उद्यमप्रति उत्साह बढ्दै गइरहेको छ’

कमला श्रेष्ठ
सभापति
नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी समिति

पोखरामा जेठ ३० देखि असार २ गतेसम्म आयोजित महिला उद्यमी मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समितिले प्रवद्र्धन गरिरहेको छ । यसै क्रममा पोखरामा मेला आयोजना गर्नुको उद्देश्य लगायत विविध विषयमा केन्द्रित रहेर समितिका सभापति कमला श्रेष्ठसँग आर्थिक आवाले गरेको कुराकानीको सारः

मेला आयोजना गर्नुको उद्देश्य के हो ?
उद्यमी महिलाहरुको बिचमा एकआपसमा परिचय राम्रोसँग हुन सकेको छैन । कतिपय उद्यमीलाई उद्यमशीलताको वारेमा सामान्य जानकारी पनि नभएको र सामान उत्पादन गरेपछि कहाँ र कसरी लैजाने भन्ने कुरा पनि थाहा नभएको अवस्था छ । यस अवस्थामा महिला उद्यमीहरुका बीचमा आपसी सम्बन्ध बढाउँदै उत्पादनहरुको बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा मेला आयोजना गरेका हौं । महिलामा क्रमशः उत्साह बढ्दै गइरहेको छ । महिलाको स्तर, क्षमता तथा दक्षतामा पनि वृद्धि भइरहेको छ । महिलामा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच बढ्न थालेको छ । यसरी आयोजना हुने मेला महोत्सवले महिलालाई अझ बढी क्रियाशील बनाउन योगदान पु¥याउँछ ।

पोखरामा नै किन मेला आयोजना गर्नुभयो ?
यस अगाडि प्रदेश नं १ को ईटहरीमा पनि मेला भइसकेको छ । त्यहाँ गरिएको मेला फलदायी बनेको थियो । त्यस मेलाले महिलाको विचमा रहेको दुरी कम गर्नुका साथै अनुभव आदान प्रदान पनि भएको थियो । दोस्रो चरणमा पोखरामा मेला आयोजना गरिएको हो । मेलामा ७ प्रदेश कै महिला उद्यमीको सहभागिता रहनेछ । अहिले आयोजना भएको मेला राष्ट्रियस्तरको हो । स्थान अनुसार महिलाले नै उत्पादन गरेका सामान मेलामा रहनेछन् । हामी यहाँ सामान बिक्री गरेर नाफा कमाउने तर्फ ध्यान दिदैनौं । उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्न मेला उत्कृष्ट स्थान बन्नेछ । महिला उद्यमीहरुको संंख्या पोखरा क्षेत्रमा राम्रो छ । पोखरा पर्यटकीय नगरी भएकाले पनि मेलाका लागि उपयुक्त स्थल हो भन्ने हामीलाई लाग्यो ।

महिला उद्यमका लागि राज्यले के–कस्ता सहयोग गरेको छ ?
महिला उद्यमशीलताको विकासको लागि राज्यले खासै ध्यान दिएको छैन । राज्यले महिलालाई सहयोग गर्न कन्जुस्याईं गरेको छ । विदेशमा हुने विभिन्न कार्यक्रममा म पनि सहभागी भएको छु । त्यहाँको नीति निर्माण राम्रो छ । केही गर्छु भन्नेलाई सहयोग गर्छन् । नेपालको परिस्थिति फरक छ । जे जति उद्यमी सफल भएका छन् आफ्नै मेहनतले सफल भएका छन् । राज्यले यस तर्र्फ चासो दिन आवश्यक छ ।

महिला उद्यम समितिले के–कस्ता काम गरेको छ ?
महिला उद्यमशीलता विकासको लागि नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम समितिले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । केही समय पहिले १९ जनाको टोलीलाई हामीले बैकक भम्रण गराएका थियौं, जुन धेरै फलदायी बनेको थियो । आफूलाई थाहा नभएका कुरा सिकेर आउनुभएको छ । विभिन्न तालिम तथा सेमिनार पनि हामीले आयोजना गरेका छौं । हामीले पुलको काम गरिरहेका छौं । महिला उद्यमशीलताको क्षेत्रमा रहेका समस्या समाधानको लागि सरकारलाई घच्घच्याएका छौं । यस मेलालाई राष्ट्रियस्तरको बनाउनु भनेको ठुलो उपलब्धी पनि हो । हामीले महिला उद्यमीलाई विभिन्न तरिकाले सहयोग गर्दै आइरहेका छौं । निरन्तर प्रोत्साहन पनि गरेका छौं ।

पोखरामा महिला उद्यमशीलताको अवस्था कस्तो छ ?
पोखरेली दिदीबहिनी एकदम सक्रिय हुनुहुन्छ । काममा पनि धेरै अगाडि बढेको मैले पाएको छु । पोखरामा धेरै उद्यमी महिला हुनुहुन्छ । मेहनतका साथ काम गर्नुभएको छ । पोखरामा मेला आयोजना हुने जानकारी पाउँदा देशभरका व्यवसायी खुसी भएको मैले पाएको छु । महिलाले महिलालाई सपोर्ट गर्नुपर्छ । एक आपसमा मिलेर अगाडि बढ्नुपर्छ ।

You might also like

Comments are closed.